सर्लाही – आज सरस्वती पूजा अर्थात् श्री पञ्चमी देशभर श्रद्धा र उल्लासका साथ मनाइँदैछ ।
ज्ञान, कला र सङ्गीतकी देवी सरस्वतीको उपासना गर्दै विद्यालय, मन्दिर तथा विद्याका केन्द्रहरूमा आज विशेष पूजा–आराधना गरिन्छ । आजको दिन अक्षरारम्भ गर्ने, कलम–कागज, वाद्ययन्त्रजस्ता सिर्जनाका औजारहरूको पूजा गर्ने परम्परा रहेको छ।

आजको दिन आफैँमा शुभ हुने भएकाले विवाह, व्रतबन्धलगायत सबै प्रकारका सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नु नपर्ने बताइन्छ । यस दिन बालबालिकाको नाक, कान छेड्ने चलन पनि छ । आज काठमाडौं उपत्यकासहित देशभरका सरस्वती मन्दिरहरूमा भक्तजनको भीड लाग्ने गर्दछ ।
उपत्यकाका स्वयम्भू, मैतीदेवी, गैह्रीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वती मन्दिरमा बिहानैदेखि पूजाआजा भइरहेको छ । आजबाट वसन्त ऋतुको सुरुवात हुने धार्मिक विश्वास पनि छ । सरस्वती पूजालाई विद्या, सिर्जना र सकारात्मक सोचको आरम्भका रूपमा लिइन्छ । – नेपाल न्युज बैंक





