सर्लाही – मधेस प्रदेशमा नेकपा (एमाले)को नेतृत्व गरिरहेका अध्यक्ष चन्देश्वर मण्डलसहित तीन जना समानुपातिक उम्मेदवारमाथि निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ।
फागुन २१ गते हुने निर्वाचनका लागि दलहरूले बुझाएको समानुपातिक बन्दसूचीमा समावेश उम्मेदवारहरूको योग्यता शंकास्पद रहेको दाबी गर्दै उजुरी परेको आयोगले जनाएको छ।

निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतका अनुसार सिरहा जिल्लाका चन्देश्वर मण्डल आदिवासी समुदायमा पर्ने व्यक्ति भएकाले मधेसी क्लस्टरअन्तर्गत उम्मेदवारी दिन नमिल्ने भन्दै उजुरी परेको हो।
यसैगरी, नेकपा (एमाले)कै समानुपातिक सूचीमा अपाङ्गता कोटाबाट समावेश गरिएका ललितपुर निवासी जीवन लामाविरुद्ध पनि उजुरी परेको छ। उजुरीकर्ताले लामा अपाङ्ग व्यक्ति नभएको दाबी गरेका छन्।
उता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का समानुपातिक उम्मेदवार कुमार बहादुर थापाविरुद्ध समेत आयोगमा उजुरी परेको छ। धनकुटाका थापामाथि उत्तरपानी चिया बगानको जग्गा अवैध रूपमा बेचबिखन गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा विचाराधीन रहेको उल्लेख गर्दै उजुरी परेको हो।
निर्वाचन आयोगले उजुरी परेका सबै उम्मेदवारलाई माघ १३ गते दिउँसो ४ बजेसम्म प्रमाण र सबुतसहित उपस्थित हुन पत्राचार गरेको छ। तोकिएको समयभित्र उपस्थित नभए कानुनअनुसार प्रक्रिया अघि बढाइने आयोगले स्पष्ट पारेको छ।





