सर्लाही – राष्ट्रियसभा सदस्य निर्वाचनका लागि मधेस प्रदेशमा भएको मतदानमा केही प्रदेशसभा सदस्यदेखि स्थानीय तहका प्रमुख उपप्रमुखसम्म सहभागी नहुँदा चर्चा चुलिएको छ।
प्रदेशसभा सदस्यतर्फ कुल १०० मतदातामध्ये ९९ मत खसेको छ भने पालिकातर्फ २६४ मतदातामध्ये २४२ मत मात्र खसेका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार कुल मतदान प्रतिशत ९३.६८ रहेको छ। तर, यस निर्वाचनमा २२ जना जनप्रतिनिधि मतदानमा अनुपस्थित रहे।

मतदानमा सहभागी नहुनेमा प्रदेशसभा सदस्यसमेत रहेका छन्। नेपाल संघीय समाजवादी पार्टीकी प्रदेशसभा सदस्य विमला अन्सारी मतदानमा सहभागी भइनन्। यस्तै, विभिन्न नगरपालिका र गाउँपालिकाका प्रमुख पनि मतदानमा अनुपस्थित देखिएका छन्।
अनुपस्थित हुने प्रमुखहरूमा कटहरिया नगरपालिका (रौतहट) का प्रमुख अजयप्रसाद जयसवाल, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह तेली, गौर नगरपालिकाका प्रमुख शम्भु साह, औरही नगरपालिका (महोत्तरी) का प्रमुख प्रदीपकुमार खड्का, छिपहरमाई गाउँपालिकाका अध्यक्ष मनोज कुमार र बहुदरमाइ नगरपालिकाका प्रमुख सिंगासन साह तेली रहेका छन्।
यसैगरी, यमुनामाई गाउँपालिकाका अध्यक्ष महमद साउद, बलरा नगरपालिकाका प्रमुख रामाशंकर प्रसाद कुशवाहा, फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी तथा मनराशिस्वा नगरपालिकाका प्रमुख मोहन पाण्डे पनि मतदानमा सहभागी भएनन्।
उपमेयर तथा गाउँपालिका उपाध्यक्षतर्फ पनि उल्लेख्य संख्या अनुपस्थित देखियो। फतुवा विजयपुर नगरपालिकाकी उपमेयर अमवेया खातुन, चन्द्रनगर नगरपालिकाकी उपप्रमुख गीतादेवी महतो, सोनमा गाउँपालिकाकी उपाध्यक्ष जहिदा खातुन, महागढीमाइ नगरपालिकाकी उपमेयर तारादेवी कानू, सिम्रौनगढ नगरपालिकाकी उपप्रमुख नजुम शेख र फेटा गाउँपालिकाकी उपाध्यक्ष निलम साह मतदानमा आएनन्।
त्यसैगरी, नगराइन नगरपालिकाकी उपप्रमुख राधादेवी यादव, गौशाला नगरपालिकाकी उपप्रमुख रेणुकुमारी, सखुवा प्रसौनी गाउँपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट, गौर नगरपालिकाकी उपप्रमुख शैली कुमारी साह तथा हनुमाननगर कंकालनी नगरपालिकाकी उपप्रमुख सरितादेवी यादव पनि मतदानमा सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
हाल मधेस प्रदेशमा मतगणनाको तयारी भइरहेको छ।





