सर्लाही – मधेश प्रदेश निर्वाचन कार्यलयले हिँजो (आईतबार) देखि प्रदेशका सबै जिल्लाको वर्तमान वस्तुस्थिति बारे स्थलगत अनुगमन तथा अध्ययन गर्ने तयारी थालेको छ। सोही क्रममा पर्सा जिल्लामा उच्चस्तरीय अनुगमन तथा छलफल कार्यक्रम सम्पन्न भएको छ।
प्रदेश सरकारका गृह, सञ्चार तथा कानून मन्त्री माननीय फकिरा महतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रम प्रदेश सरकारका प्रमुख सचिव कमल प्रसाद भट्टराईको संयोजकत्वमा सञ्चालन गरिएको थियो।

स्थलगत अनुगमन कार्यक्रममा सुरक्षा निकायका पृतनापति, सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरीका एसएसपी, राष्ट्रिय अनुसन्धान विभागका डीआईजी, प्रमुख जिल्ला अधिकारी तथा जिल्ला स्तरीय सुरक्षा निकायका प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्वाचन कार्यालयको स्थलगत अनुगमन पश्चात् प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा विशेष बैठक बसेको थियो। बैठकमा निर्वाचनको सुरक्षा व्यवस्था, प्रशासनिक तयारी, सम्भावित चुनौती तथा समन्वयका विषयमा विस्तृत अन्तरक्रिया तथा छलफल गरिएको जनाइएको छ।
छलफलपछि निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउन आवश्यक नीति तथा निर्देशन जारी गरिने बताईएको छ।





