सर्लाही – बाराको परवानीपुर गाउँपालिकामा आमा छोराको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।
परवानीपुर – १ स्थित रहरिया टोलमा गएराति अज्ञात व्यक्तिले धारिलो हतियार प्रयोग गरी ४६ वर्षीया सुमित्रा देवी र उनका ३० वर्षीय छोरा रामेश्वर मण्डलमाथि आक्रमण गर्दा उनीहरूको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनामा सुमित्रा देवीका पति ५० वर्षीय जगरुप मण्डल र बुहारी २८ वर्षीया मनिता देवी गम्भीर घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि वीरगञ्जको एलएस न्युरो अस्पतालमा भर्ना गरिएको छ।
जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी विजयराज पण्डितका अनुसार राति १२ बजेपछि घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलमा पुगेको थियो। प्रारम्भिक अनुसन्धानमा अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी आक्रमण गरेको देखिएको उनले बताए।
हालसम्म आक्रमणकारीको पहिचान खुल्न नसकेको जनाउँदै प्रहरीले घटनाको कारण र संलग्न व्यक्तिको खोजीका लागि अनुसन्धान तीव्र पारेको जनाएको छ।





