दादुरा रोग के हो, कसरी सर्छ र यसबाट कसरी बच्ने ?

२०८२ माघ १४, बुधबार २०:३७

मलंगवा – दादुरा मिजल्स भाइरसका कारण लाग्ने अत्यन्तै छिटो सर्ने संक्रामक रोग हो। यससँग मिल्दोजुल्दो रूपमा देखिने अर्को भाइरसजन्य रोग रुबेला पनि रहेको छ। चिकित्सकहरूका अनुसार यी दुवै रोग समयमै नियन्त्रण नभए चाँडै महामारीको रूप लिन सक्छन् र विशेषगरी पाँच वर्षमुनिका बालबालिकामा बढी देखिने गरेको छ।

दादुरा संक्रमण गम्भीर बनेमा बिरामीको मृत्यु समेत हुनसक्ने भएकाले यसलाई सामान्य रूपमा लिन नहुने चिकित्सकको भनाइ छ। यस्तै, रुबेला रोग दादुराको तुलनामा केही हल्का देखिए पनि गर्भावस्थामा संक्रमण भएमा गम्भीर समस्या देखिन सक्छ। गर्भवती महिलामा रुबेला भाइरसको संक्रमण हुँदा समय नपुग्दै शिशु जन्मिनु, मृत शिशु जन्मिनु, जन्मजात विकलांगता देखिनु वा गर्भपतनसम्म हुनसक्ने जोखिम रहने गर्दछ।

दादुरा रोग संक्रमित व्यक्तिको नाक तथा घाँटीबाट निस्कने तरल पदार्थको सम्पर्कबाट सर्छ। संक्रमित व्यक्तिले हाच्छ्यूँ गर्दा वा खोक्दा विषाणु हावामा फैलिने भएकाले नजिकको सम्पर्कमा आउने अन्य व्यक्तिहरू सजिलै संक्रमित हुन सक्छन्। लक्षण देखिनु अगावैदेखि र लक्षण देखिइसकेपछि पनि केही दिनसम्म संक्रमित व्यक्तिबाट भाइरस सर्ने हुँदा विद्यालय, बालबालिका जम्मा हुने स्थान तथा भिडभाड भएका क्षेत्रमा दादुरा छिटो फैलिने सम्भावना रहन्छ।

दादुराको सुरुवाती लक्षणका रूपमा उच्च ज्वरो देखिन्छ। संक्रमित व्यक्तिको सम्पर्कमा आएको करिब १० देखि १२ दिनपछि ज्वरो आउनुका साथै नाकबाट पानी बग्ने, खोकी लाग्ने, आँखा रातो हुने वा आँशु बग्ने जस्ता समस्या देखिन थाल्छन्। यसै समयमा गालाको भित्री भागमा स–साना सेतो दाग देखिनु दादुराको पहिचान गर्ने महत्वपूर्ण संकेत मानिन्छ।

ज्वरो सुरु भएको केही दिनपछि मुख र घाँटीको माथिल्लो भागमा रातो विमिरा देखिन थाल्छन्, जसले क्रमशः छाती, पेट, हात र खुट्टामा फैलिने गर्दछ। यी विमिरा प्रायः पाँचदेखि छ दिनसम्म रहने र त्यसपछि बिस्तारै हराउँदै जाने गर्छन्। सामान्यतया दादुराको भाइरस शरीरमा प्रवेश गरेको सातदेखि १८ दिनभित्र लक्षण देखिन सुरु हुन्छ।

दादुरा वा रुबेला जस्ता संक्रामक रोग देखिएमा अरूलाई सर्न नदिन बिरामीलाई अलग्गै राख्नु आवश्यक हुन्छ। साथै, चिकित्सकको सल्लाह अनुसार लक्षण अनुसारको उपचार तुरुन्तै सुरु गर्नु रोगको जटिलता कम गर्न अत्यन्त महत्वपूर्ण हुने स्वास्थ्य विज्ञहरूको सुझाव छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार