सर्लाही – बर्दियाको बारबर्दिया नगरपालिकामा कार्यरत एक इन्जिनियर घुस रकम लिँदै गर्दा अख्तियारको फन्दामा परेका छन्। भवन तथा बस्ती विकास शाखामा कार्यरत इन्जिनियर मोहन देव मल्ललाई एक लाख ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिइएको हो।
बारबर्दिया–७ स्थित जनता माध्यमिक विद्यालय, रम्भापुरमा निर्माण भएको चार कोठे भवनको अन्तिम भुक्तानी सहज गराइदिने बहानामा उनले सेवाग्राहीसँग घुस मागेको आरोप छ। सोही क्रममा रकम लिइसकेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई कार्यालयमै पक्राउ गरेको हो।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट खटिएको टोलीले बिहीबार मल्ललाई घुस रकमसहित नियन्त्रणमा लिएको हो। हाल घटनाबारे थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ।





