मधेसका एक हजार दुई सय ४६ मतदानस्थल अति संवेदनशील

२०८२ माघ १५, बिहीबार २०:५५
सांकेतिक तस्बिर

सर्लाही – आगामी फागुन २१ गते तय भएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशमा सुरक्षा सतर्कता बढाइएको छ। प्रदेशभर रहेका २ हजार १६० मतदानस्थलमध्ये १ हजार २४६ मतदानस्थललाई ‘अति संवेदनशील’ सूचीमा राखिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार भारतसँग सीमा जोडिएका क्षेत्रका अधिकांश मतदानस्थल उच्च जोखिमयुक्त मानिएका छन्। ती स्थानमा हुने गतिविधिको निगरानी र सुरक्षा व्यवस्थापनका लागि विशेष रणनीतिसहित तयारी भइरहेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाले जानकारी दिए।

जनकपुरधाममा आज आयोजित पत्रकार सम्मेलनमा दिइएको विवरणअनुसार मधेस प्रदेशका ३२ निर्वाचन क्षेत्रमध्ये ७५५ मतदानस्थल संवेदनशील र १५९ मतदानस्थल सामान्य श्रेणीमा परेका छन्। प्रदेशभर कुल ४ हजार ४७१ मतदान केन्द्र कायम गरिएको छ।

निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १ हजार २८ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। मधेस प्रदेशमा कुल मतदाता संख्या ३५ लाख १७ हजार १२३ रहेको छ, जसमा १९ लाख ५ हजार ८१९ पुरुष र १६ लाख ११ हजार ३०४ महिला मतदाता छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार