सर्लाहीसहित चार जिल्ला निर्वाचन सुरक्षाको ‘हाई अलर्ट’ मा

२०८२ माघ १६, शुक्रबार ०८:४९

मलंगवा – आसन्न निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था थप मजबुत बनाउने तयारी थालेको छ ।

प्रहरी प्रधान कार्यालयले संवेदनशील ठानिएका जिल्लामा उच्च तहका अधिकारी खटाउने निर्णय गरेको हो । प्रहरीका अनुसार तराईका झापा, सर्लाही, चितवन र रूपन्देही जिल्लालाई विशेष निगरानीमा राखिँदै ती जिल्लामा एसएसपी स्तरका अधिकारी परिचालन गरिनेछ ।

झापा निर्वाचन क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)बीच कडा प्रतिस्पर्धा देखिएकाले सो क्षेत्रलाई अत्यन्त संवेदनशील मानिएको प्रहरीको भनाइ छ ।

त्यस्तै, सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपाका उम्मेदवार अमेरश सिंहबीच तीव्र चुनावी भिडन्त देखिएको छ । सर्लाहीकै क्षेत्र नम्बर २ बाट पूर्वगृहमन्त्री नारायणकाजी श्रेष्ठ पनि मैदानमा रहेकाले जिल्लाको समग्र सुरक्षा अवस्थालाई ‘हाई अलर्ट’ मा राखिएको छ ।

चितवनमा रास्वपाका सभापति रवि लामिछाने र रूपन्देहीमा एमाले उपाध्यक्ष विष्णु पौडेलजस्ता प्रभावशाली नेताहरू प्रतिस्पर्धामा रहेकाले ती जिल्लामा पनि सुरक्षा सतर्कता बढाइने प्रहरीको तयारी छ । केही एसएसपीलाई एकभन्दा बढी जिल्ला हेर्ने गरी जिम्मेवारी तोक्ने योजना बनाइएको छ ।

यसैगरी, पहाडी क्षेत्रका केही संवेदनशील जिल्लामा पनि निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनका लागि एसएसपी तथा एसपीहरू खटाइनेछ । प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन प्रहरी प्रधान कार्यालय तथा अन्य इकाइमा कार्यरत जनशक्तिलाई जिल्लाहरूमा परिचालन गरिँदैछ ।

काठमाडौँ उपत्यकाबाट मात्र करिब १२ हजार प्रहरी बाहिरी जिल्लामा पठाइने तयारी छ । निर्वाचन अवधिभर देशभर ७५ हजार ४९७ नेपाल प्रहरी र प्रहरी मातहतका १ लाख ३८ हजार ९८० सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार