मधेसका ८ जिल्लाको जिम्मा ३ एसएसपीलाई, सर्लाहीमा कमल थापा

२०८२ माघ १९, सोमबार २०:५७

सर्लाही – फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मधेस प्रदेशका आठै जिल्लाको सुरक्षा व्यवस्थापन तीन जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को प्रत्यक्ष निगरानीमा राखिएको छ। निर्वाचनअघि नै सम्भावित जोखिमको मूल्याङ्कन, सुरक्षा योजना निर्माण र समन्वयका लागि एसएसपीहरूलाई जिल्ला–जिल्लामा जिम्मेवारी बाँडफाँट गरिएको हो।

प्रदेश प्रहरी कार्यालयका एसएसपी कमल थापा, प्रदेश तालिम केन्द्र राजविराजका एसएसपी भीमबहादुर दाहाल र संघीय प्रहरी कार्यालय वीरगन्जका प्रमुख एसएसपी शान्तिराज कोइरालालाई निरीक्षण तथा अनुगमनको जिम्मा दिइएको छ।

जिम्मेवारीअनुसार सिरहा र सप्तरीको सुरक्षा निगरानी भीमबहादुर दाहालले गर्नेछन् भने बारा, पर्सा र रौतहट शान्तिराज कोइरालाको कार्यक्षेत्रमा परेको छ। धनुषा, महोत्तरी र सर्लाहीको सुरक्षा समन्वय एसएसपी कमल थापाले गर्नेछन्।

मधेसका सबै जिल्लामा जिल्ला प्रहरी प्रमुख (एसपी) ले प्रत्यक्ष सुरक्षा कमान्ड सम्हाल्ने भए पनि चार जिल्लालाई उच्च जोखिमयुक्त मानिएको छ। प्रदेश प्रहरी प्रमुख डीआईजी गोविन्द थपलियाका अनुसार सिरहा, सर्लाही, रौतहट र पर्सामा सुरक्षा चुनौती तुलनात्मक रूपमा बढी देखिएको छ।

सर्लाहीमा नेपाली कांग्रेसका सभापति गगन थापा चुनावी प्रतिस्पर्धामा रहेकाले राजनीतिक सरगर्मी तीव्र भएको छ। कांग्रेसका पूर्वसांसद अमरेश सिंह पनि यसपटक राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेपछि जिल्लामा सुरक्षा संवेदनशीलता बढेको प्रहरीको विश्लेषण छ।

रौतहटमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको उम्मेदवारी र दल परिवर्तनको प्रभावले सुरक्षा चुनौती थपिएको छ। पर्सामा पछिल्लो समय भएका धार्मिक तनावका घटनाले निर्वाचन सुरक्षालाई अझ संवेदनशील बनाएको सुरक्षा अधिकारीहरूको बुझाइ छ।

यी चुनौतीपूर्ण जिल्लामा आवश्यक परे तुरुन्तै निर्णय र समन्वय गर्न सकियोस् भन्ने उद्देश्यले एसएसपी तहका अधिकृत खटाइएको डीआईजी थपलियाले बताए। उनका अनुसार अहिलेको अवस्थामा थप उच्च अधिकारी आवश्यक नदेखिए पनि परिस्थितिअनुसार सुरक्षा जनशक्ति र नेतृत्व थप गर्न सकिनेछ।

हाल खटाइएका एसएसपीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको सुरक्षा अवस्था मूल्याङ्कन गर्ने, मातहतका निकायलाई निर्देशन दिने र प्रदेश तथा केन्द्रमा नियमित रिपोर्टिङ गर्नेछन्।

मधेस प्रदेशमा विगतका निर्वाचनमा भएका हिंसात्मक घटनाहरू, भारतसँगको खुला सीमा र सीमा नाकाबाट हुने आवतजावतका कारण निर्वाचन सधैं संवेदनशील मानिँदै आएको छ। यही कारण नेपाल प्रहरी र भारतीय सुरक्षा निकायबीच समन्वय बढाइएको छ। निर्वाचन अवधिमा सीमा नाका कडाइ गर्ने तयारी पनि छ।

मधेसका ३२ निर्वाचन क्षेत्रमा २ हजार १६० मतदानस्थल रहेका छन्। तीमध्ये १ हजार २३७ अति संवेदनशील र ७६३ संवेदनशील मतदानस्थलका रूपमा वर्गीकरण गरिएको छ। प्रदेशभर ३६ लाख ३६ हजारभन्दा बढी मतदाता रहेका छन् भने १ हजार २८ जना उम्मेदवार चुनावी मैदानमा छन्।

निर्वाचन सुरक्षामा नेपाल प्रहरी, सशस्त्र प्रहरी, निर्वाचन प्रहरीसँगै नेपाली सेनासमेत परिचालन हुनेछ। माघ २१ गतेदेखि सेना परिचालन गर्ने तयारी छ। मतपत्र छपाइ, ढुवानी, मतदानपछिको मतपेटिका सुरक्षा र आवश्यक परे तेस्रो घेराको जिम्मेवारी सेनाले सम्हाल्नेछ। निर्वाचन अवधिभर देशभरका विमानस्थल र कारागारको सुरक्षा पनि नेपाली सेनाकै जिम्मामा रहनेछ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार