निर्वाचन सुरक्षाका लागि सेना भोलिदेखि खटिने

२०८२ माघ २०, मंगलवार २०:४४

सर्लाही – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउने उद्देश्यसहित नेपाली सेना भोलिदेखि देशभर परिचालित हुने भएको छ। निर्वाचन सुरक्षाका लागि तयार पारिएको एकीकृत सुरक्षा योजना–२०८२ अनुसार सेनाको संयोजनमा चारवटै सुरक्षा निकाय फिल्डमा खटिन लागेका हुन्।

निर्वाचन हुन अब एक महिना मात्र बाँकी रहँदा सरकारले सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउँदै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागलाई संयुक्तरूपमा परिचालन गर्न लागेको हो। आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै यी सुरक्षा निकाय बुधबारदेखि सक्रिय हुनेछन्।

योजनाअनुसार मतदानस्थलको भित्री घेरा नेपाल प्रहरी र निर्वाचन प्रहरीले सम्हाल्नेछन् भने दोस्रो सुरक्षा घेरा सशस्त्र प्रहरी बलको जिम्मामा रहनेछ। नेपाली सेना भने बाहिरी सुरक्षा घेरामा रही समग्र सुरक्षा व्यवस्थाको महत्वपूर्ण जिम्मेवारी बहन गर्नेछ।

नेपाली सेनाले १६५ वटै निर्वाचन क्षेत्रमा बुधबारदेखि नै आफ्नो उपस्थिति जनाउने जनाएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको सिफारिस र मन्त्रिपरिषद्को निर्णयअनुसार निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न यसअघि नै स्वीकृति प्रदान गरिसकेका छन्। आवश्यकताअनुसार सेनाको ‘वेस’ स्थापना गरिने र संयुक्त गस्तीसमेत सञ्चालन गरिने सैनिक प्रवक्ता सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।

निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ। एकीकृत सुरक्षा योजना अनुमोदन भई राष्ट्रपतिबाट स्वीकृत भइसकेकाले सोहीअनुसार सेना परिचालन हुने सेनाको भनाइ छ।

योजनाअनुसार सेनाले निर्वाचनपूर्व, मतदानका दिन र निर्वाचनपछिसम्म गरी तीन चरणमा सुरक्षा जिम्मेवारी निर्वाह गर्नेछ। यसमा मतपत्र छपाइ र ढुवानी, मतदानस्थल र मतगणनास्थलको सुरक्षा, मतपेटिका ओसारपसारलगायतका कार्य समेटिएका छन्।

साथै विमानस्थल, कारागारजस्ता संवेदनशील संरचनाको सुरक्षा पनि नेपाली सेनाले अन्य सुरक्षा निकायसँग समन्वयमा गर्नेछ। मतदानका बेला सेना तेस्रो सुरक्षा घेरामा रही राजनीतिक दल, उम्मेदवार, मतदाता र निर्वाचनमा खटिएका कर्मचारीलाई पूर्ण सुरक्षा प्रदान गर्नेछ।

यस निर्वाचनमा ३ हजार ४०६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। निर्वाचन आयोगले माघ ४ गतेदेखि आचारसंहिता लागू गरिसकेको छ। देशभर कूल १ करोड ८९ लाख ३ हजार ६८९ मतदाता कायम छन्।

निर्वाचनका लागि १० हजार ९६७ मतदानस्थल मा २३ हजार ११२ मतदान केन्द्र तोकिएका छन्। नेपाल प्रहरीतर्फबाट ७७ हजार सुरक्षाकर्मी परिचालन हुनेछन् भने जनशक्ति अपुग भएपछि थप १ लाख ३३ हजार निर्वाचन प्रहरी भर्ना गरिएको छ।

मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशील गरी वर्गीकरण गरिएको छ। २ हजार ८४५ मतदानस्थल सामान्य, ४ हजार ४४२ संवेदनशील र ३ हजार ६८० अति संवेदनशील रहेका छन्।

सशस्त्र प्रहरी बलबाट ४९ हजार ६८६ जना सुरक्षाकर्मी परिचालन हुनेछन्। कुनै पनि अप्रिय घटना हुन नदिन उच्च सतर्कता अपनाइएको र आवश्यक परे १० मिनेटभित्र घटनास्थलमा पुग्नेगरी सुरक्षा व्यवस्था मिलाइएको सशस्त्र प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार