प्रादेशिक अस्पताल सिरहाका दुई पूर्वप्रमुखसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२०८२ माघ २०, मंगलवार २१:२८

सर्लाही – सिरहा प्रादेशिक अस्पतालमा बिरामीबाट उठेको सरकारी राजस्व रकम हिनामिना भएको प्रकरणमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दुई जना पूर्वअस्पताल प्रमुखसहित १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार अस्पतालका ओपीडीसहित विभिन्न सेवा काउन्टरबाट संकलित रकममध्ये ३८ लाख ७७ हजार ७२४ रुपैयाँ सरकारी खातामा जम्मा नगरी कर्मचारीहरूले आपसी मिलेमतोमा व्यक्तिगत रूपमा प्रयोग गरेका थिए। अनुसन्धानबाट उक्त रकम बदनियतपूर्वक हिनामिना गरिएको पुष्टि भएपछि मंगलबार आरोपपत्र दायर गरिएको हो।

आयोगले सार्वजनिक गरेको विवरणअनुसार आर्थिक वर्ष २०८०/८१ मा अस्पतालका आठवटा बिल काउन्टरबाट तीन करोड ८७ लाख ६६ हजार ९७४ रुपैयाँ संकलन भएको तथ्य सफ्टवेयर प्रणालीमा देखिएको थियो। तर, अस्पतालको आधिकारिक अभिलेख र बैंक खातामा भने तीन करोड ४८ लाख ८९ हजार २५० रुपैयाँ मात्र दाखिला भएको पाइएको छ।

सफ्टवेयरमा देखिएको रकम र वास्तविक जम्माबीचको फरक रकम ३८ लाख ७७ हजार ७२४ रुपैयाँ कर्मचारीहरूले योजनाबद्ध रूपमा हिनामिना गरेको अख्तियारको निष्कर्ष छ।

तत्कालीन अस्पताल प्रमुख डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादवले सफ्टवेयरमार्फत दैनिक आम्दानीको विवरण हेर्ने अधिकार हुँदाहुँदै पनि कम रकम जम्मा भएको जानकारी पाएर पनि मौन बसेको अख्तियारको दाबी छ। उनीहरूले अन्य कर्मचारीलाई भ्रष्टाचार गर्न सहयोग गरेको ठहर आयोगले गरेको छ।

यस प्रकरणमा पूर्वअस्पताल प्रमुखद्वय डा. नागेन्द्रप्रसाद यादव र डा. सरोज यादव, तत्कालीन प्रशासन प्रमुख अशोककुमार सिंह तथा तत्कालीन लेखा प्रमुख अशोककुमार यादवलाई जनही ३८ लाख ७७ हजार ७२४ रुपैयाँ बिगो कायम गर्दै प्रतिवादी बनाइएको छ।

त्यसैगरी, बिल काउन्टरमा कार्यरत अहेब श्यामकुमार मण्डलमाथि २५ लाख ४७ हजार ४१७ रुपैयाँ बिगो दाबी गरिएको छ। सहायक कर्मचारीहरू सरस्वतीकुमारी यादवबाट पाँच लाख दुई हजार ८१३, अजयकुमार मण्डलबाट तीन लाख ७९ हजार २१, पूजाकुमारी यादवबाट दुई लाख ८८ हजार २२९ र रोशनकुमार यादवबाट एक लाख ६४ हजार ६५९ रुपैयाँ बिगो असुल गर्न माग गरिएको छ।

अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार यस प्रकरणमा संलग्न तत्कालीन लेखा प्रमुख रत्नप्रसाद मण्डलको मृत्यु भइसकेको छ। फौजदारी सजाय माग्न नमिल्ने भए पनि भ्रष्टाचार निवारण ऐन तथा मुलुकी फौजदारी कार्यविधि संहिताको प्रावधानअनुसार सरकारी बिगो असुल गर्न उनकी श्रीमती मुस्कानकुमारी मण्डललाई प्रतिवादी बनाइएको आयोगले जनाएको छ। मृतक मण्डलको हक खाने हैसियतमा रहेकी श्रीमतीबाट ३८ लाख ७७ हजार ७२४ रुपैयाँ असुलीको माग गरिएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार