सर्लाही – मधेस प्रदेश सभाले स्थापना भएको आठ वर्ष पूरा गरेको अवसरमा विशेष कार्यक्रम आयोजना गर्दै वार्षिकोत्सव मनाएको छ। बुधबार प्रदेश सभा भवनमा आयोजित कार्यक्रममा संघीयता, लोकतन्त्र र सांस्कृतिक पहिचानका विषयमा गहन चर्चा भएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले सबै भाषा, संस्कृति र भेषभूषाको सम्मान नै संघीय लोकतान्त्रिक व्यवस्थाको सार भएको स्पष्ट पारे। उनले मधेसको पहिचान बहुलता र सहअस्तित्वमा आधारित रहेको उल्लेख गर्दै भने, “ढाका टोपीदेखि मिथिलाको पाग–पगडीसम्म, बज्जिका, मैथिली, भोजपुरीदेखि नेपाली भाषासम्म र धोती–कुर्थादेखि दौरा–सुरुवाल र कोट–पाइन्टसम्मको सम्मान नै साँचो लोकतन्त्र हो।”

प्रदेश प्रमुख कर्णले विगतमा एउटै भाषा र एउटै भेषभूषा लाद्ने प्रवृत्ति रहेको स्मरण गर्दै अहिले मधेस प्रदेश सभामा सबै समुदाय, भाषा र संस्कृतिको सम्मानसहित मिथिला संस्कृतिअनुसार गरिएको स्वागत संघीयताको सही अभ्यास भएको बताए।
कार्यक्रममा मुख्यमन्त्री कृष्णप्रसाद यादवले आसन्न निर्वाचन र राजनीतिक परिवेशप्रति केन्द्रित धारणा राख्दै एजेण्डाविहीन राजनीतिप्रति आलोचना गरे। राष्ट्रिय स्वतन्त्र पार्टीतर्फ संकेत गर्दै उनले भने, “एजेण्डा स्पष्ट नभएका दलहरूले कार्यकारी नेतृत्वमा दाबी गरिरहेका छन्। भोट किन दिने भन्ने प्रश्नको उत्तर छैन, परिवर्तनको नाममा मतदातालाई भ्रममा पार्ने प्रयास भइरहेको छ, यसप्रति सचेत हुन जरुरी छ।”
मुख्यमन्त्री यादवले भदौ २३ गतेको आन्दोलनलाई ‘हाइज्याक’ गरिएको आरोप लगाउँदै उक्त पार्टी संघीयता विरोधी भएको दाबी गरे। “जसको विधानमै संघीयता भन्ने शब्द छैन, त्यही दल अहिले मधेस र मधेशीको नाम प्रयोग गरेर जनभावनासँग खेल्न खोज्दैछ,” उनले भने, “यस्ता संघीयता विरोधी शक्तिको लहलहैमा नलाग्न सबै सचेत हुनुपर्छ।”
वार्षिकोत्सव कार्यक्रममा मिथिला कला, परम्परागत रंग–रोगन, लोकसंस्कृतिको झल्को दिने सजावट तथा स्थानीय पहिरनमा सहभागीहरूको उपस्थितिले कार्यक्रमलाई विशेष बनाएको थियो। मञ्च निर्माणदेखि व्यवस्थापनसम्म मधेसको ऐतिहासिक र सांस्कृतिक पहिचानलाई प्राथमिकतामा राखिएको थियो।
कार्यक्रममा प्रदेशसभाका सभामुख, उपसभामुख, मन्त्रीहरू, प्रदेशसभा सदस्यहरू, पूर्वसांसद, कर्मचारी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। साथै, प्रदेश सभाको स्थापना पछिका आठ वर्षमा भएका उपलब्धि, सामना गरिएका चुनौती र आगामी कार्यदिशाबारे समेत छलफल गरिएको थियो।





