बरहथवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको नयाँ भवन उद्घाटन

२०८२ माघ २३, शुक्रबार ०९:१६

बरहथवा – सर्लाहीको बरहथवामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकलाई लक्षित सेवा केन्द्रको नव–निर्मित भवनको औपचारिक उद्घाटन गरिएको छ।

इलाका प्रहरी कार्यालय, बरहथवाको परिसरभित्र संयुक्त अधिराज्य (बेलायत) सरकारको वैदेशिक विकास तथा राष्ट्रमण्डल कार्यालयको आर्थिक सहयोगमा संयुक्त राष्ट्र परियोजना सेवा कार्यालयद्वारा सञ्चालित सुरक्षा तथा न्याय कार्यक्रम अन्तर्गत उक्त भवन निर्माण गरिएको हो।

मंगलबार आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले रिबन काटेर भवनको विधिवत् उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा बोल्ने अधिकांशले नयाँ भवन सञ्चालनमा आएसँगै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित सेवा प्रवाह अझ सुरक्षित, प्रभावकारी र पीडितमैत्री बन्ने विश्वास व्यक्त गरे।

उक्त सेवा केन्द्रले न्यायमा पहुँच विस्तार गर्न र सेवाग्राहीलाई सहज तथा सम्मानजनक वातावरणमा सेवा प्रदान गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

उद्घाटन कार्यक्रममा बरहथवा नगरपालिकाकी नगर प्रमुख कल्पना कुमारी कटवाल, सर्लाही जिल्लाका प्रमुख जिल्ला अधिकारी रामु राज कडरिया, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक गोबिन्द थपलिया, नेपाल प्रहरी प्रदेश कार्यालय वीरगञ्जका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक शान्ति राज कोइराला लगायतको उपस्थिति रहेको थियो।

त्यसैगरी, संयुक्त राष्ट्र परियोजना सेवा कार्यालयका सञ्चालन संयोजक तथा पूर्व प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपाने, परियोजना प्रमुख शिशिर उपाध्यायसहित परियोजनाका प्रतिनिधिहरू कार्यक्रममा सहभागी थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार