सर्लाही – महोत्तरीको मटिहानी नगरपालिका – ४ मझौरामा बिहीबार दिउँसो भएको दुर्घटनामा दुई बालिकाको मृत्यु भएको छ। खेत जोत्ने क्रममा प्रयोग भइरहेको ट्याक्टरबाट खसेपछि उनीहरू किचिएका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार स्थानीय इमरान राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिरहा नगरपालिका – ११ मरडाकी सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुनको घटनास्थलमै मृत्यु भएको हो।

दुवै बालिका ट्याक्टरमा सवार अवस्थामा थिए। खेत जोत्ने क्रममा अचानक ट्याक्टरबाट खसेपछि पछाडिको भागले किच्दा गम्भीर घाइते भएका उनीहरूको मृत्यु भएको बताइएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन् भने ट्याक्टर घटनास्थलमै नियन्त्रणमा लिइएको छ।
मृतक बालिकाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





