सर्लाहीका एकसहित दुई जना नक्कली नोटसहित पक्राउ

२०८२ फाल्गुन १, शुक्रबार ०८:०८

सर्लाही – रौतहट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । जिल्लाको वृन्दावन नगरपालिका–९ विश्रामपुरस्थित विशाल किराना पसलमा नक्कली नोट दिएर पेट्रोल खरिद गर्न खोज्ने क्रममा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेहरूमा वृन्दावन नगरपालिका – २ का २२ वर्षीय दिनेश पटेल र सर्लाहीको बरहथवा नगरपालिका – १ का २० वर्षीय विवेक प्रसाद यादव रहेका छन्। जिल्ला प्रहरी कार्यालय रौतहटका सूचना अधिकारी एवं डिएसपी बिष्णु प्रदिप बस्यालका अनुसार उनीहरूले किराना पसलमा एक हजार दरको नक्कली नोट दिएका थिए ।

नोटमा शंका लागेपछि पसलेले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए। प्रहरी चौकी विश्रामपुरबाट खटिएको टोलीले बिआर.३० एआर ७७५५ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई जाँच गर्दा दिनेश पटेलको साथबाट १२ थान र विवेकप्रसाद यादवले मोबाइल कभरमा लुकाएको २ थान गरी जम्मा १४ थान एक हजार दरका नक्कली नोट फेला पारेको हो ।

बरामद नोट र मोटरसाइकलसहित दुवै जनालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको डिएसपी बस्यालले जानकारी दिए । – नेपाल न्युज बैंक

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार