मलंगवा — २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा सर्लाहीमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को चुनावी अवस्था चुनौतीपूर्ण देखिएको छ। चारवटै निर्वाचन क्षेत्रमा बहुदलीय प्रतिस्पर्धा चर्किँदै जाँदा पार्टीभित्रको आन्तरिक असन्तुष्टि, उम्मेदवार चयनलाई लिएर देखिएको मतभेद र कार्यकर्ताको निष्क्रियताले नेकपाको संगठनात्मक बल कमजोर भएको संकेत देखिएको छ भने नेकपा जिल्लामै पत्तासाफ हुने डरमा छ।
सर्लाही–१ मा नेकपाले प्रमोद साहलाई उम्मेदवार बनाएको छ। यस क्षेत्रमा १९ दलसहित २९ जनाको उम्मेदवारी परेको छ। प्रमोद अघिल्लो निर्वाचनमा जसपाबाट उम्मेदवार बनेका थिए। कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सक्रिय रूपमा चुनावी दौडमा छन्। अघिल्लो निर्वाचनको मतपरिणाम र वर्तमान राजनीतिक समीकरणका आधारमा यहाँ नेकपाका लागि सहज अवस्था देखिँदैन।

सर्लाही–२ मा अघिल्लो निर्वाचनमा तत्कालीन माओवादीको चुनाव चिह्नबाट विजयी भएका महेन्द्र राय यादव पुनः उम्मेदवार बनेका छन्। तर, यसपटक एमाले, कांग्रेस, रास्वपा, जसपालगायतका दलको प्रतिस्पर्धाले चुनाव थप जटिल बनेको छ। १४ दलका ३१ उम्मेदवार प्रतिस्पर्धामा उत्रिँदा मत विभाजनको सम्भावना बढेको छ। स्थानीय स्तरमा विकास र प्रतिनिधित्वका मुद्दा उठाइए पनि नेकपाको संगठन विस्तार अपेक्षाकृत कमजोर देखिएको राजनीतिक विश्लेषकहरूको भनाइ छ। अर्कोतर्फ, अहिलेको निर्वाचनमा पुराना अनुहारप्रति जनताको चासो घट्दो अवस्थामा देखिन्छ।
सर्लाही–३ मा नेकपाले पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ। राष्ट्रिय स्तरका नेता मैदानमा उत्रिए पनि स्थानीय तहमा संगठन सुदृढीकरण चुनौतीपूर्ण देखिएको छ। एमालेबाट पुनः उम्मेदवार बनेका हरिप्रसाद उप्रेती, रास्वपाबाट उम्मेदवार बनेका नागेन्द्र साह र अन्य दलका उम्मेदवारको सक्रियताले प्रतिस्पर्धा कडा बनेको छ।
सर्लाही–४ मा कांग्रेस सभापति गगन थापाको उम्मेदवारीले चुनावलाई राष्ट्रिय बहसको विषय बनाएको छ। यस क्षेत्रमा नेकपाले रजनिश रायलाई टिकट दिएको छ। तर, टिकट वितरणपछि देखिएको असन्तुष्टि र केही नेताको पार्टी परित्यागले संगठनात्मक एकता कमजोर भएको छ। यस क्षेत्र कै प्रभावशाली नेता शिवपुजन रायका छोरालाई टिकट दिने चर्चा चलेको थियो तर, अन्तिममा टिकट उनलाई नदिएपछि शिवपुजनसहित कयौंले नेकपा परित्याग गरे र उनका छोरा समेत यस क्षेत्रमा नेकपा एमालेबाट उम्मेदवार बनेका छन्। स्वतन्त्र र अन्य दलका प्रभावशाली उम्मेदवारसमेत मैदानमा रहेकाले यहाँ पनि नेकपाका लागि चुनौती कम छैन।
चार निर्वाचन क्षेत्र कायम सर्लाहीमा १३२ जनाको उम्मेदवारी कायम रहेको छ। सर्लाहीका चारवटै क्षेत्रमा हेर्दा नेकपाको अवस्था कमजोर, विभाजित र रक्षात्मक देखिन्छ। टिकट वितरणमा असन्तुष्टि, अवसरवादी राजनीतिलाई प्राथमिकता, शीर्ष नेतामाथिको अत्यधिक निर्भरता र कार्यकर्ताको पार्टी परित्यागले पार्टीको आधार खुम्चिएको छ।





