सर्लाही – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ लाख रुपैयाँ बराबरका मोबाइल तथा ल्यापटपसहित सर्लाहीका एक युवक पक्राउ परेका छन्।
विमानस्थल सुरक्षा कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक राजकुमार सिलवालका अनुसार सर्लाहीको लालबन्दी नगरपालिका – १ निवासी ३४ वर्षीय सञ्जीव खड्कालाई निगरानीका क्रममा नियन्त्रणमा लिइएको हो।

गोल्डेन गेट बाहिरपट्टि शंकास्पद रूपमा हिँडिरहेको अवस्थामा जाँच गर्दा उनले विदेशबाट आएका यात्रुलाई प्रयोग गरी भन्सार छली गर्दै विद्युतीय सामग्री संकलन गरेर बाहिर लैजाने प्रयास गरेको खुलेको प्रहरीले जनाएको छ।
खड्काको साथबाट करिब आठ लाख रुपैयाँ बराबरका चार थान आइफोन १७ प्रो–म्याक्स, दुई लाख ६० हजार रुपैयाँ मूल्यको एमफोर म्याकबुक तथा तीन लाख २० हजार रुपैयाँ बराबरका एमफोर म्याकबुक एयर बरामद गरिएको छ।
पक्राउ परेका खड्कामाथि आवश्यक अनुसन्धान अघि बढाइएको विमानस्थल प्रहरीले जानकारी दिएको छ।





