सर्लाहीमा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया सम्पन्न

२०८२ फाल्गुन ८, शुक्रबार १९:१८

मलंगवा – प्रेस काउन्सिल नेपालको आयोजनामा शुक्रबार सर्लाहीको सदरमुकाम मलंगवामा निर्वाचन आचारसंहिता र मिडिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा आगामी निर्वाचनको सन्दर्भमा सञ्चारमाध्यम र संचारकर्मीको भूमिका, जिम्मेवारी र आचारसंहिताको प्रभावकारी कार्यान्वयनबारे छलफल गरिएको थियो।

कार्यक्रममा सहभागी वक्ताहरूले निर्वाचनको समयमा सञ्चारमाध्यमले निष्पक्ष, सत्य र सन्तुलित समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिएका थिए। आचारसंहिता उल्लंघनका घटनाले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्न सक्ने उल्लेख गर्दै पत्रकारहरूलाई तथ्यमा आधारित समाचार प्रकाशन/प्रसारण गर्न आग्रह गरिएको थियो।

अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी रामुराज कडरिया, सर्लाहीका मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलिया, प्रेस काउन्सिल नेपालका प्रतिनिधि, स्थानीय सञ्चारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरूको उपस्थिति रहेको थियो।

सहभागीहरूले सामाजिक सञ्जालमार्फत फैलिने भ्रमपूर्ण सूचना नियन्त्रण गर्न सञ्चारकर्मीहरू अझ सचेत हुनुपर्ने धारणा राखेका थिए। कार्यक्रमको संयोजन नेपाल पत्रकार महासंघ सर्लाही शाखाले गरेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार