६४ थान हातहतियार प्रशासनमा बुझाइयो

२०८२ फाल्गुन १०, आईतवार १९:०१

मलंगवा – सर्लाहीमा दर्ता भएका इजाजत प्राप्त हातहतियारमध्ये ६४ थान सम्बन्धित धनीहरूले प्रहरीसमक्ष बुझाएका छन्।

आगामी फागुन २१ गते तय गरिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण र सुरक्षित बनाउन जिल्ला प्रशासन कार्यालय सर्लाहीले यसअघि नै सबै लाइसेन्स प्राप्त हतियार बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार माघ २० गतेसम्म तोकिएको म्यादभित्र ६४ थान हतियार बुझाएका हुन्। जिल्लामा कुल ३३४ थान इजाजत प्राप्त हतियार रहेको तथ्यांक छ।

जिल्ला प्रशासन कार्यालयले गत पुस २८ गते सूचना प्रकाशित गर्दै सूचना जारी भएको मितिले १५ दिनभित्र आफ्ना हतियार नजिकको प्रहरी इकाइ वा जिल्ला प्रहरी कार्यालयमा अनिवार्य रूपमा बुझाउन निर्देशन दिएको थियो।

सूचनामा तोकिएको समयसीमाभित्र हतियार नबुझाए कानुनअनुसार जफत गरी आवश्यक कारबाही अघि बढाइने स्पष्ट उल्लेख गरिएको थियो। सोही अनुसार हालसम्म हतियार नबुझाउने व्यक्तिहरूको निगरानीसमेत भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार