सर्लाही – ४ मा अमरेशले जित्ने रविको दाबी

२०८२ फाल्गुन १३, बुधबार २१:१०
file image

लालबन्दी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रबि लामिछानेले सर्लाही–४ मा आफ्नो पार्टीका उम्मेदवार अमरेश कुमार सिंहको जित सुनिश्चित रहेको दाबी गरेका छन्।

चुनावी अभियानका क्रममा बुधबार लालबन्दीमा सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्। उनले भने, “मलाई विश्वास छ, अमरेशजीले जित्नुहुन्छ। उहाँ नभए पनि त्यो स्थानमा मधेसकै प्रतिनिधिले जित्थ्यो, मधेसले नै जित्थ्यो।”

कांग्रेस सभापति गगन थापा प्रति संकेत गर्दै उनले थपे, “काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्ने र यहाँको ठाउँ ओगट्न खोज्ने प्रयास भइरहेको छ। यस पटक त्यस्तो प्रयासलाई यहीँ रोक्ने जिम्मेवारी तपाईँहरूको हो।”

लामिछानेले देशव्यापी परिवर्तनका लागि आफ्नो पार्टीलाई साथ दिन आह्वान गर्दै न्यायपूर्ण राजनीतिक अभ्यासको आवश्यकता औंल्याए। सर्लाहीसँगको आफ्नो पुरानो सम्बन्ध स्मरण गर्दै उनले विगतमा यहाँका नागरिकमाथि अन्याय हुँदा आफूले खुलेर आवाज उठाएको दाबी गरे।

“सर्लाहीसँग मेरो नाता नयाँ होइन,” उनले भने, “हिजो यहाँका जनतामाथि अन्याय हुँदा म अग्रपंक्तिमा थिएँ। अहिले मलाई थोरै न्याय चाहिएको छ, तर देशलाई धेरै न्याय चाहिएको छ।”

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार