नेपाली सेनाको सुरक्षा घेरामा सर्लाही आइपुग्यो मतपत्र

२०८२ फाल्गुन १४, बिहीबार १९:१९

सर्लाही – फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आवश्यक मतपत्र जिल्लामा आइपुगेको छ।

काठमाडौंस्थित निर्वाचन आयोगबाट नेपाली सेनाको सुरक्षा स्कर्टिङमा हिजो साँझ मतपत्र ल्याइएको हो। जिल्ला निर्वाचन कार्यालय सर्लाहीका अनुसार मतपत्र प्राप्त भएसँगै निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री जिल्लामा जुटिसकेको छ।

कार्यालयका प्रमुख तथा जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलका अनुसार ढिलोमा फागुन १८ गतेसम्म मतदान अधिकृत, सहायक मतदान अधिकृतसहितका कर्मचारी मतपत्र र अन्य आवश्यक सामग्री लिएर सम्बन्धित मतदान केन्द्रमा पुगिसक्नेछन्।

केन्द्रमा पुगेपछि सर्वपक्षीय बैठक बसाल्ने, निषेधित चारकिल्ला तोक्ने र मतदानस्थल व्यवस्थापनको काम अघि बढाइनेछ। सुरक्षाका लागि कर्मचारीसँगै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल परिचालनको तयारीमा रहेका जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

निर्वाचनका लागि सर्लाहीमा ३१२ मतदानस्थल र ६२८ मतदान केन्द्र तोकिएका छन्। जिल्लामा दुई लाख ७८ हजार ८३७ पुरुष, दुई लाख ३२ हजार ७५८ महिला र ११ जना अन्य गरी कुल पाँच लाख ११ हजार ६०६ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार