सर्लाही – मधेस प्रदेशमा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सुरक्षा संयन्त्रलाई उच्च सतर्कतामा राखिएको छ। निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यका साथ व्यापक सुरक्षा तयारी पूरा गरिएको प्रदेश प्रहरी कार्यालय, जनकपुरधामले जनाएको छ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी कमल थापाका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा म्यादी प्रहरीसहित ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। आठवटै जिल्लामा रहेका मतदान स्थल तथा केन्द्रहरूको निरीक्षण र सुरक्षा अनुगमन कार्य सम्पन्न भइसकेको उनले बताए।

प्रदेशभर रहेका दुई हजार १६० मतदान स्थलमध्ये एक हजार २४६ स्थल अतिसंवेदनशील श्रेणीमा परेका छन्। प्रतिनिधिसभाका ३२ निर्वाचन क्षेत्र रहेको यस प्रदेशमा ७५५ मतदान स्थल संवेदनशील र १५९ सामान्य अवस्थाका रूपमा वर्गीकरण गरिएको छ। विशेषगरी भारतीय सीमासँग जोडिएका अधिकांश मतदान स्थललाई उच्च जोखिमको सूचीमा राखिएको छ। सप्तरी जिल्लामा रहेका २९६ मतदान स्थलमध्ये २०९ स्थल उच्च जोखिममा रहेको जनाइएको छ।
मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका प्रमुख डीआईजी गोविन्द थपालियाले भयरहित वातावरणमा निर्वाचन गराउन सुरक्षा रणनीति योजनाबद्ध रूपमा कार्यान्वयन गरिएको जानकारी दिए। नेपाल–भारत सीमाक्षेत्रमा जाँचचौकी स्थापना गरी निगरानी बढाइएको छ भने विभिन्न संवेदनशील क्षेत्रमा विशेष टोली परिचालन गरिएको छ।
आज साँझदेखि सुरक्षाकर्मीहरू सम्बन्धित मतदान बुथमा पुगेर जिम्मेवारी सम्हाल्ने, सूचना टाँस गर्ने, चार किल्ला निर्धारण गर्ने तथा मतदान स्थल र आसपासका नगर क्षेत्रमा गस्ती बढाउने तयारी गरिएको छ।
निर्वाचन सुरक्षाका लागि प्रदेशका आठ जिल्लामा चार जना एसएसपीलाई जिल्लागत सुरक्षा कमान्डको जिम्मेवारी दिइएको छ। कमल थापाले धनुषा र महोत्तरी, भीमबहादुर दाहालले सिरहा र सप्तरी, शान्तिराज कोइरालाले बारा र पर्सा तथा सुरेश काफ्लेले रौतहट र सर्लाही जिल्लाको सुरक्षा कमान्ड सम्हाल्नेछन्। उनीहरूलाई निर्वाचनअघिको सुरक्षा अवस्था मूल्यांकन गर्दै आवश्यक रणनीति कार्यान्वयन गर्ने जिम्मेवारी तोकिएको छ।
सिरहा, सर्लाही, रौतहट र पर्सा जिल्लालाई तुलनात्मक रूपमा बढी चुनौतीपूर्ण क्षेत्रका रूपमा हेरिएको छ। प्रमुख नेताहरूको उम्मेदवारी, दल परिवर्तन, धार्मिक संवेदनशीलता तथा विगतका निर्वाचनका घटनालाई मध्यनजर गर्दै ती क्षेत्रमा सुरक्षा सतर्कता थप कडा पारिएको छ।
सिरहाका १५४, धनुषाका १९४, महोत्तरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदान स्थललाई अतिसंवेदनशील सूचीमा राखिएको छ। प्रदेशभर कुल चार हजार ४७१ मतदान केन्द्र रहेका छन्। यस निर्वाचनमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी एक हजार २८ जना प्रतिस्पर्धामा उत्रिएका छन्।





