आज तराईका जिल्लामा होली मनाउँदै

२०८२ फाल्गुन १९, मंगलवार ०७:२९

सर्लाही – आज मंगलबार तराई क्षेत्रमा पनि रङहरूको उत्सव धूमधामका साथ मनाइँदैछ । नेपालका पहाडी जिल्लाहरूमा हिजो सोमबार फागु पूर्णिमाको अवसरमा हर्षोल्लासका साथ होली पर्व मनाइएपछि एक अर्कामा अबिर र रङ्ग लगाएर, शुभकामना आदानप्रदान गर्दै तथा सांस्कृतिक कार्यक्रम आयोजना गरी तराईवासीले होली पर्व मनाउने भएका छन् ।

रङ्गहरुको पर्व होलीलाई मित्रता, आत्मियता, सामिप्य र सद्भाव दर्शाउने पर्वको रुपमा पनि लिने गरिएकाले साथीसङ्गी, आफन्तहरु जम्मा भएर होली खेल्ने गरिन्छ । पहाडी तथा हिमाली जिल्लाहरुमा होली मनाइएको भोलिपल्ट तराइमा होली पर्व मनाउने गरिन्छ । वसन्त ऋतुको आगमनको सुरुवातमा पर्ने फागु पर्व एकआपसमा खुसीयाली प्रकट गर्न सामूहिक रुपमा भेला भएर एक अर्कामा रङ दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रहृलादलाई मार्नका लागि हिरण्यकश्यपले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकालाई प्रहृलादले काखमा लिएर आगोमा बस्न लगाउँदा प्रहृलादलाई केही नभएको तर होलीका आफै जलेर नष्ट भएपछि असत्यमाथि सत्यको विजय भएको प्रतिकको रुपमा होली पर्व मनाउने गरिएको छ । होलीको अवसरमा सरकारले आज तराईका जिल्लामा सार्वजानिक विदा दिएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार