सर्लाही – सिरहामा प्रतिनिधिसभा निर्वाचनको मौनअवधिका बेला जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशेश्वर यादव नगदसहित पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार सिरहा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका यादवलाई मध्यरातमा प्रहरीले नियन्त्रणमा लिएको हो। नेपाल–भारत सीमावर्ती क्षेत्र माडरबाट सिरहा सदरमुकामतर्फ आउँदै गरेको प्र २–०२–००१ च ०८७ नम्बरको स्कारपियो गाडीलाई नियमित चेकजाँचका क्रममा रोकेर तलासी लिइएको थियो।

तलासीका क्रममा गाडीबाट ४ लाख ८७ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ। नगदसहित पक्राउ परेका यादवसँगै गाडीमा सवार अन्य चार जनालाई पनि नियन्त्रणमा लिइएको छ।
प्रहरीका अनुसार सवारीसाधनबाट मतपत्रसमेत फेला परेको छ। मौनअवधिमा नगद र मतपत्रसहित फेला परेकाले घटनाबारे थप अनुसन्धान सुरु गरिएको जनाइएको छ।
नियन्त्रणमा लिइएका सबैलाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखिएको छ। आवश्यक कानुनी प्रक्रिया अघि बढाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयसँग समन्वय भइरहेको प्रहरीले जनाएको छ।





