सर्लाही-३ का रास्वपा उम्मेदवार साहको दाबी – ‘कालोसूची’ समाचार मतदातालाई भ्रमित पार्ने उद्देश्यले फैलाइएको हो

२०८२ फाल्गुन २०, बुधबार १५:२७

मलंगवा – प्रतिनिधिसभा निर्वाचनको अन्तिम चरण नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सर्लाही–३ का उम्मेदवार नरेन्द्र साहले आफू कर्जा सूचना केन्द्रको कालोसूचीमा परेको भन्ने समाचार भ्रामक, तथ्यहीन र मतदातालाई भ्रमित पार्ने उद्देश्यले फैलाइएको दाबी गरेका छन्।

केही सञ्चारमाध्यममा प्रकाशित समाचारमा नरेन्द्र साह कलवार २०८१ मंसिर ५ गते कर्जा सूचना केन्द्रद्वारा कालोसूचीमा राखिएको र सो विवरण हालसम्म कायम रहेको उल्लेख गरिएको थियो। साथै, निर्माण व्यवसायसँग सम्बन्धित विभिन्न आयोजना अलपत्र पारेको आरोपसमेत जोडिएको थियो।

तर उम्मेदवार साहले फेसबुकमा स्टाटस पोस्ट गर्दै आफू कुनै पनि कालोसूचीमा नरहेको स्पष्ट पारेका छन्। ‘निर्वाचनको अन्तिम घडीमा योजनाबद्ध रूपमा मेरो चरित्रहत्या गर्ने उद्देश्यले यस्तो भ्रामक समाचार फैलाइएको छ,’ उनले भनेका छन्, ‘उक्त समाचारमा कुनै सत्यता छैन।’

साहले मतदातालाई अपुष्ट र आधारहीन सूचनाबाट प्रभावित नहुन आग्रह गर्दै विवेकपूर्ण ढंगले मत प्रयोग गर्न अपिल गरेका छन्। उनका अनुसार यस्ता प्रचारले निर्वाचनको स्वच्छ वातावरणलाई असर पुर्‍याउने काम गरेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार