‘रास्वपाको जित होस्’ भन्दै गरिएको भाकल पूरा भएपछी युवाहरुले मन्दिरमा चढाए ५५ किलो मिठाई

२०८२ फाल्गुन २५, सोमबार ०९:१८

मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिकाका युवाहरूले आफ्नो भाकल पूरा भएपछि गाउँको कुलदेवता ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाएका छन्।

जिल्लाको चन्द्रनगर गाउँपालिका – ३ स्थित कोरियाही टोलका युवाहरूले चुनावको मिति घोषणा भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरू देशभरि विजयी होऊन् भन्ने कामना गर्दै ब्रह्मबाबा मन्दिरमा ५५ किलो मिठाई चढाउने र चमेली माई मन्दिरमा एउटा बोका बली दिने भाकल गरेका थिए।

युवाहरूका अनुसार सर्लाहीका रास्वपा उम्मेदवारहरू नीतिमा भण्डारी ( कार्की ), रविन महतो, नरेन्द्र साह कलवार र डा. अमरेश सिंहलगायत तथा देशभर पार्टीका उम्मेदवारहरूले सफलता पाएपछि आफ्नो भाकल पूरा भएको भन्दै आइतबार ब्रह्मबाबा मन्दिरमा मिठाई अर्पण गरिएको हो।

चन्द्रनगर – ३ का युवा पवन महतोका अनुसार केही दिनभित्रै चमेली माई मन्दिरमा बोका बली दिने कार्यक्रम पनि गरिनेछ। अर्का युवा विकास कुमार महतोले काठमाडौं महानगरपालिकाको मेयर हुँदा बालेन साहले विभिन्न क्षेत्रमा विकासको पहल गरेको उल्लेख गर्दै अब देशको नेतृत्व सम्हालेपछि मुलुकभर विकास र समृद्धि आउने अपेक्षा राखेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार