मधेसका पुर्व मुख्यमन्त्री सतिश सिंहको जमानत जफत

२०८२ फाल्गुन २५, सोमबार १४:४८
पूर्व मुख्यमन्त्री सतिश कुमार सिहं

सर्लाही – मधेस प्रदेशका पूर्व मुख्यमन्त्री सतिशकुमार सिंह प्रतिनिधिसभा सदस्यको चुनाव लड्न प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएपछि पनि अपेक्षित सफलता हासिल गर्न सकेनन्। सप्तरी जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट आफ्नै दल स्वाभिमान पार्टी गठन गरेर उम्मेदवारी दिएका सिंहले अत्यन्त कम मत प्राप्त गरेपछि उनको जमानत जफत भएको हो।

निर्वाचन परिणामअनुसार सिंहले कुल सदर मतको केवल ५.६७ प्रतिशत अर्थात् ३ हजार ५५७ मत मात्र प्राप्त गरे। यस क्षेत्रमा कुल ६२ हजार ७८३ सदर मत खसेको थियो। मतगणनामा उनी चौथो स्थानमा सीमित भएका छन्।

यसै क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी का उम्मेदवार रामजी यादव २८ हजार ४०४ मतसहित निर्वाचित भएका छन्। त्यस्तै, उमेशकुमार यादव (जनता समाजवादी पार्टी नेपाल) ले १४ हजार २६३ मत प्राप्त गर्दै जमानत जोगाएका छन् भने डा. सीके राउत (जनमत पार्टी) ले ९ हजार ८८० मत प्राप्त गरी जमानत जोगाउन सफल भएका छन्।

यो निर्वाचन क्षेत्रमा ३४ जना उम्मेदवार प्रतिस्पर्धामा थिए। तर निर्वाचित उम्मेदवारसहित यादव र राउतबाहेक अन्य ३१ उम्मेदवारको जमानत जफत भएको छ। मधेस प्रदेशबाट प्रतिनिधिसभा सदस्यको चुनाव लड्न चारजना प्रदेशसभा सदस्यले पदबाट राजीनामा दिएका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार