मतदाता शिक्षा प्रभावकारी नहुँदा सर्लाहीमा प्रत्यक्षतर्फ साँढे १९ हजारभन्दा बढी मत बदर

२०८२ फाल्गुन २६, मंगलवार ११:३४

सर्लाही – प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सर्लाहीमा प्रत्यक्षतर्फ साँढे १९ हजारभन्दा बढी मत बदर भएको छ।

जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा गरी १९ हजार ६ सय १० मत बदर भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। सबैभन्दा बढी बदर मत निर्वाचन क्षेत्र नं. २ मा भएको छ। उक्त क्षेत्रमा ५ हजार ४ सय ८ मत बदर भएको छ। त्यसपछि क्षेत्र नं. १ मा ५ हजार ३ सय ६५ मत बदर भएको छ।

त्यसैगरी, क्षेत्र नं. ४ मा ४ हजार ५ सय ६९ मत बदर भएको छ भने सबैभन्दा कम क्षेत्र नं. ३ मा ४ हजार २ सय ४८ मत बदर भएको छ। मत बदरको संख्या घटाउन जिल्ला निर्वाचन कार्यालय सर्लाहीले स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो।

उम्मेदवार र उनीहरूका प्रतिनिधिले पनि घरघरमै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाएका थिए। तर यति प्रयास हुँदाहुँदै पनि ठूलो सङ्ख्यामा मत बदर भएको देखिएको छ। मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको बताईएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार