सर्लाही – रौतहटको फतुवाविजयपुर नगरपालिका – ५ सन्तपुरस्थित दलित (चमार) बस्तीमा फागुन १९ गते भएको सामूहिक कुटपिट घटनामा संलग्न आठ जनाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगअन्तर्गत मुद्दा दर्ता गरेको छ।
पीडित बिर्जाराम चमारले दिएको उजुरीका आधारमा बुधबार इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मीनियाले आरोपितहरूविरुद्ध मुद्दा दर्ता गरेको हो। कार्यालयका प्रहरी निरीक्षक सुरेन्द्र यादवका अनुसार घटनामा संलग्न भनिएका पसिन्द्र यादवलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार पक्राउ परेका यादवलाई सात दिनको म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान अघि बढाइएको छ भने अन्य आरोपितहरूको खोजी कार्य जारी रहेको छ।
फागुन १९ गते होली मनाउने क्रममा सामान्य विवाद उत्पन्न भएपछि भुनेश्वर यादवको नेतृत्वमा आएको समूहले लाठी भाटा बोकेर साँझ बिर्जाराम चमारको घरमै प्रवेश गरी कुटपिट गरेको पीडित पक्षको आरोप छ।
उक्त घटनामा घरभित्र रहेका महिलासहित ६ जनामाथि निर्घात आक्रमण गरिएको र घरका सामान तोडफोड गरिएको बताइएको छ। साथै दुईवटा मोबाइलसमेत क्षति पुगेको जनाइएको छ।
कुटपिटबाट बिर्जाराम चमारको ढाड र घाँटीमा चोट लागेको छ भने उनकी श्रीमती गायत्रीदेवी रामको शरीरका विभिन्न भागमा निलडाम परेको छ। त्यस्तै छोरा राजकुमार रामको टाउकोमा चोट लागेको र सुब्बा रामकी १६ वर्षीया छोरीको टाउको फुटेको पीडित पक्षले जनाएको छ।





