मलंगवा – सर्लाहीमा २०७६ साल असार ५ गते भएको कुमार पौडेल हत्या प्रकरणमा सर्वोच्च अदालतले तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतसहित १० जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गर्न परमादेश दिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त घटनामा संलग्न भनिएका व्यक्तिहरूविरुद्ध जाहेरी दर्ता गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउन आदेश दिएको हो ।

अदालतले गृह मन्त्रालय, महान्यायाधिवक्ताको कार्यालय, जिल्ला प्रहरी कार्यालय सर्लाही तथा जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीलाई उक्त आदेश कार्यान्वयन गर्न निर्देशन दिएको छ ।
विप्लव नेतृत्वको तत्कालीन नेकपाका सर्लाही जिल्ला नेता कुमार पौडेललाई लालबन्दी क्षेत्रमा ‘इन्काउन्टर’को नाममा सुरक्षाकर्मीले गोली हानी हत्या गरिएको आरोप लाग्दै आएको थियो । घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गठन गरेको छानबिन समितिले पनि घटनालाई हत्या भएको निष्कर्ष निकाल्दै दोषीलाई कानुनी दायरामा ल्याउन सिफारिस गरेको थियो ।
अदालतको आदेशसँगै तत्कालीन सीडीओ कृष्णबहादुर राउत (हाल निर्वाचन आयोगका सचिव), सर्लाहीका तत्कालीन प्रहरी उपरीक्षक गोपाल भट्टराई, प्रदेश प्रहरी कार्यालय जनकपुरका तत्कालीन डीआईजी हरिबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका तत्कालीन प्रहरी निरीक्षक किरणप्रसाद न्यौपाने र केडी साह, इलाका प्रहरी कार्यालय नवलपुरका तत्कालीन प्रहरी नायव निरीक्षक सूर्यकुमार कार्की, जिल्ला अस्पताल सर्लाहीका डा. वीरेन्द्रकुमार मण्डल, प्रहरी हवल्दार सत्यनारायण मिश्र र विनोद शाह तथा बागमती नगरपालिकाका मेयर भरतकुमार थापासहित १० जनामाथि अनुसन्धान गरी कर्तव्य ज्यान मुद्दा चलाउनुपर्ने भएको छ ।





