काठमाडौं – संयुक्त अरब इमिरेट्स (यूएई) मा एआई प्रविधि प्रयोग गरेर ‘मिसाइल खसेको’ भन्ने झूटा भिडियो सार्वजनिक गरेको आरोपमा एक नेपालीसहित १० जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
यूएईका महान्यायाधिवक्ताको निर्देशनमा डिजिटल प्लेटफर्ममार्फत भ्रामक र बनावटी भिडियो सामग्री फैलाएको अभियोगमा उनीहरूलाई पक्राउ गर्न आदेश जारी गरिएको थियो। पक्राउ परेकामध्ये दुई जना भारतीय रहेका छन् भने अन्यमा पाकिस्तान, फिलिपिन्स, इजिप्ट, बंगलादेश, क्यामरुन, नेपाल, भियतनाम र इरानका नागरिक रहेका बताइएको छ।

सुरक्षा निकायका अनुसार उक्त भिडियोमा वास्तविक दृश्यसँगै कृत्रिम बुद्धिमत्ता (एआई) बाट सिर्जना गरिएका दृश्य मिसाइएका थिए। ती भिडियोहरूमा यूएईका विभिन्न स्थानमा विस्फोट, आक्रमण तथा सुरक्षा जोखिम भएको जस्तो झूटा दृश्य प्रस्तुत गरिएको पाइएको छ।
प्रारम्भिक अनुसन्धानले सर्वसाधारणलाई भ्रममा पार्ने र त्रास फैलाउने उद्देश्यले त्यस्ता सामग्री सामाजिक सञ्जालमा राखिएको देखाएको छ। यस घटनासम्बन्धी मुद्दा द्रुत प्रक्रियामार्फत अघि बढाइएको गल्फ न्युजले जनाएको छ।
यूएईका अधिकारीहरूले झूटा सूचना वा भ्रामक सामग्री फैलाउँदा राष्ट्रिय सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै दोषी ठहरिए कम्तीमा एक वर्षसम्म कैद र एक लाख दिराम (करिब ४० लाख २२ हजार नेपाली रुपैयाँ) सम्म जरिवाना हुन सक्ने चेतावनी दिएका छन्।
यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूको परिचय भने सार्वजनिक गरिएको छैन।





