किशोरी साहको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार, मातृका यादवको जित कायम

२०८२ चैत्र १, आईतवार १८:४५

सर्लाही – धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ।

न्यायाधीश विनोद शर्मा र मेघराज पोखरेलको संयुक्त इजलासले साहको पक्षमा अन्तरिम आदेश जारी नगर्ने निर्णय गरेको हो। साहले आफ्नो उम्मेदवारी कायम राख्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सर्वोच्चले अन्तरिम आदेश नदिएपछि धनुषा–१ बाट नेकपाका उम्मेदवार मातृका यादव निर्वाचित भएका छन्।

यसअघि बैंक तथा वित्तीय संस्थासम्बन्धी दायित्व पूरा नगरेको भन्दै कर्जा सूचना केन्द्रले साहको नाम कालोसूचीमा राखेको आधारमा निर्वाचन आयोगले फागुन १८ गते उनको उम्मेदवारी खारेज गरेको थियो।

साहसँग सम्बन्धित कमल निर्माण सेवा प्रालि २०८० माघ २२ गतेदेखि बैंक तथा वित्तीय संस्थाप्रति रहेको दायित्व नतिरेको कारण कालोसूचीमा परेको देखिएको छ। सोही विषयलाई लिएर साहले सर्वोच्च अदालतमा दुई वटा रिट दायर गरेका थिए।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार