यस बर्ष मधेशमा आँप उत्पादनमा वृद्धि हुने

२०८२ चैत्र २, सोमबार १८:०५
File image

सर्लाही – मधेश प्रदेशमा यस वर्ष आँप उत्पादनमा उल्लेख्य वृद्धि हुने सम्भावना देखिएको छ। प्रदेशका विभिन्न जिल्लामा रहेका आँपका बगैँचामा बोटभरि मञ्जरी लागेकाले उत्पादन बढ्ने अनुमान गरिएको हो।

कृषि प्राविधिकहरूका अनुसार चैत–वैशाख महिनामा चल्ने हावाहुरी, असिना तथा मधुवा रोगको असर नपरे यस वर्ष आँप उत्पादन राम्रो हुने अपेक्षा गरिएको छ। मधेश प्रदेश कृषि विकास निर्देशनालयका वरिष्ठ वागवानी विकास अधिकृत प्रदीपकुमार यादवका अनुसार गत वर्षको तुलनामा यस वर्ष आँप उत्पादन करिब ६० प्रतिशतसम्म बढ्न सक्ने अनुमान गरिएको छ।

यस वर्ष मधेशका किसानहरूले करिब ३० हजार ८०० हेक्टर क्षेत्रफलमा आँप खेती गरेका छन्। मौसम अनुकूल रह्यो भने प्रदेशमा चार लाख मेट्रिक टनभन्दा बढी आँप उत्पादन हुने सम्भावना रहेको कृषि विकास निर्देशनालयले जनाएको छ।

धनुषा, महोत्तरी, सिरहा र सप्तरी जिल्लालाई मधेशमा आँप उत्पादनका प्रमुख क्षेत्र मानिन्छ। व्यावसायिक रूपमा आँप खेती विस्तार हुँदै जाँदा देशको कुल आँप उत्पादनको करिब ७६ प्रतिशत हिस्सा मधेश प्रदेशले ओगट्ने गरेको तथ्याङ्कमा उल्लेख छ। गत आर्थिक वर्षमा मधेशमा ३० हजार ६०० हेक्टर क्षेत्रफलमा आँप खेती गरिएको थियो, जसबाट तीन लाख ९५ हजार ९६२ मेट्रिक टन आँप उत्पादन भएको थियो।

मधेशका किसानहरूले मालदह, बम्बै, कलकत्तिया, अम्रपाली, दशहरी, नकुअवा, केरवा, विजु तथा सिपिया लगायतका जातका आँप खेती गर्दै आएका छन्। यहाँ उत्पादन हुने आँप स्थानीय बजारसँगै काठमाडौँलगायत देशका प्रमुख सहरहरूमा बिक्री हुने गरेको छ।

यस वर्ष बगैँचामा प्रशस्त मञ्जरी लागेकाले किसानहरू उत्साहित भएका छन्। किसान विल्टु महतोका अनुसार बोटभरि फूल देखिएपछि व्यापारीहरू अहिले नै गाउँगाउँ पुगेर बगैँचा ठेक्कामा लिन थालेका छन्।

आँप खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पछिल्ला वर्षहरूमा मधेशका किसानको आकर्षण यसतर्फ बढ्दै गएको छ। कृषि विज्ञ भगिरथ यादवका अनुसार बगैँचाको उचित व्यवस्थापन र रोग नियन्त्रणमा ध्यान दिन सके मधेशमा आँप उत्पादन अझै बढ्न सक्ने सम्भावना रहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार