सर्लाही – फागुन मसान्तसम्म नेपाल सरकारको तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालय ले सार्वजनिक गरेको तथ्यांकअनुसार कुल बक्यौता ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रुपैयाँ पुगेको हो।
कार्यालयका अनुसार कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋण १३ खर्ब ४८ अर्ब ११ करोड र बाह्य ऋण १५ खर्ब ३० अर्ब १८ करोड रुपैयाँ रहेको छ। यसले नेपालको ऋण संरचनामा बाह्य ऋणको हिस्सा अझै उच्च रहेको देखाउँछ।

चालु आर्थिक वर्ष सुरु भएको समयको तुलनामा ऋण दायित्व उल्लेख्य रूपमा बढेको छ। गत असार मसान्तसम्म २६ खर्ब ७४ अर्ब ४ करोड रहेको सार्वजनिक ऋण फागुनसम्म आइपुग्दा २ खर्ब ४ अर्ब २५ करोडले वृद्धि भएको हो। हालको कुल ऋण देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत बराबर रहेको छ।
सरकारले चालु आर्थिक वर्षमा ५ खर्ब ९५ अर्ब रुपैयाँ ऋण उठाउने लक्ष्य राखेको भए पनि फागुन मसान्तसम्म २ खर्ब ९५ अर्ब १९ करोड रुपैयाँ मात्र प्राप्त भएको छ, जुन लक्ष्यको करिब ५०.४४ प्रतिशत हो।
यता ऋण सेवा खर्च पनि तीव्र रूपमा बढिरहेको छ। चालु वर्षका लागि ४ खर्ब ११ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएकोमा फागुनसम्म २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक बजेटको ५८.९४ प्रतिशत खर्च हो। माघ मसान्तसम्मको तथ्यांक अनुसार ऋण सेवा खर्च जीडीपीको ३.९७ प्रतिशत पुगेको छ।





