सर्लाही – मधेश प्रदेशमा बलात्कार तथा यौन हिंसाका घटना दिनानुदिन बढ्दै गएको तथ्यांकले देखाएको छ। पछिल्लो एक वर्षको अवधिमा मात्रै सयौँ महिला र बालिका यस्ता घटनाको सिकार बनेका छन्, जसले प्रदेशको सुरक्षा अवस्था र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाएको छ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) द्वारा सार्वजनिक गरिएको नेपाल मानवअधिकार वर्ष पुस्तक २०२६ अनुसार २०८१ पुस १७ देखि २०८२ पुस १६ सम्मको अवधिमा मधेश प्रदेशमा २२० वटा बलात्कारका घटना दर्ता भएका छन्। तीमध्ये १०१ जना १८ वर्षमुनिका बालिका र ११९ जना वयस्क महिला पीडित भएका छन्।

तथ्यांकले बालिकामाथि हुने यौन हिंसा झन् बढ्दो अवस्थामा रहेको देखाएको छ। जिल्लागत रूपमा धनुषामा सबैभन्दा धेरै घटना देखिएका छन्, जहाँ १२ बालिका र ५८ महिला गरी ७० जना बलात्कारको सिकार भएका छन्। यता सप्तरीमा सबैभन्दा कम ८ वटा घटना दर्ता भए पनि त्यहाँ एक बालिका सामूहिक बलात्कारमा परेको उल्लेख गरिएको छ।
सिरहामा ३ बालिका सामूहिक बलात्कारको सिकार बनेका छन् भने एक घटनामा बलात्कारपछि हत्या गरिएको तथ्यांकमा उल्लेख छ। त्यहाँ अन्य १२ बालिका र १६ महिला समेत पीडित बनेका छन्।
अन्य जिल्लाहरूमा पनि अवस्था चिन्ताजनक देखिन्छ। महोत्तरी र सर्लाहीमा ३१–३१ घटना, पर्सामा २४, बारामा १६ र रौतहटमा ९ वटा बलात्कारका घटना दर्ता भएका छन्। प्रहरीका अनुसार दर्ता भएका २२० घटनामध्ये १०१ वटा मात्रै कानुनी दायरामा ल्याइएका छन् भने बाँकी ११९ घटनामा अनुसन्धान जारी रहेको छ।
हालसम्म जम्मा ११ वटा मुद्दा मात्रै टुंगोमा पुगेका छन्। यस्तै, बलात्कार प्रयासका घटनासमेत बढिरहेका छन्। एक वर्षमा ७७ वटा यस्ता घटना भएको प्रहरीको तथ्यांक छ। सिरहामा बलात्कारपछि हत्या तथा पर्सामा हाडनाता करणीका घटना समेत सार्वजनिक भएका छन्।
अधिकारकर्मीहरूका अनुसार सामाजिक लाज, डर र दबाबका कारण धेरै घटना प्रहरीमा पुग्न नसक्ने हुँदा वास्तविक अवस्था अझ गम्भीर हुन सक्ने अनुमान गरिएको छ।





