सर्लाहीको लालबन्दीमा १० दिने महोत्सव सुरु, १० करोडको कारोबार लक्ष्य

२०८२ चैत्र ४, बुधबार २०:२७

हरिवन – सर्लाहीको लालबन्दी नगरपालिकामा बुधबारदेखि १० दिने ‘लालबन्दी महोत्सव’ सुरु भएको छ। माघ १५ गतेसम्म सञ्चालन हुने महोत्सवबाट करिब १० करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएका छन्।

महोत्सवमा कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिइएको छ। कृषि प्रविधि, औजार तथा उत्पादनहरूको प्रदर्शन र बिक्रीसँगै स्थानीय उत्पादनको प्रवर्द्धन र ब्रान्डिङमा जोड दिइने संयोजक बलम्पालीले जानकारी दिए। किसानहरूका लागि व्यावसायिक गोष्ठी तथा समूहगत छलफलसमेत आयोजना गरिनेछ।

साथै, उत्कृष्ट उत्पादकलाई प्रमाणपत्र र कृषि सामग्री प्रदान गरेर प्रोत्साहन गर्ने योजना रहेको छ, जसमा उद्योग वाणिज्य संघले सहकार्य गरेको छ। सांस्कृतिक कार्यक्रमतर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति रहनेछ। गायक प्रमोद खरेल, दुर्गेश थापा, प्रीति आले, अस्मिता अधिकारी र एलिमेन्ट्स ब्यान्डले दर्शकलाई मनोरञ्जन दिनेछन्। यससँगै उदाउँदा कलाकारहरूलाई पनि मञ्च प्रदान गरिने आयोजकले बताएका छन्।

महोत्सवमा नृत्य प्रतियोगिता पनि आयोजना गरिएको छ, जसमा विजेतालाई १ लाख रुपैयाँ, उपविजेतालाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। बाल उद्यान, फन पार्कलगायत मनोरञ्जनात्मक कार्यक्रमहरु पनि समेटिएका छन्।

प्रवेश शुल्क सर्वसाधारणका लागि १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ भने सम्पूर्ण अवधिका लागि ६०० रुपैयाँको पास उपलब्ध गराइएको छ। आयोजकका अनुसार हाल केही स्टलहरू थपिने क्रममा रहेका छन्। सबै तयारी एक दुई दिनभित्र पूरा भएसँगै महोत्सव पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार