सर्लाही – सर्लाहीमा स्कुल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ। जिल्लाको बागमती नगरपालिका – २ सानो डाबरीस्थित भित्री सडक खण्डमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको हो।
बिहीबार बिहान करिब ९ बजे जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेका २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

ठक्करबाट बालकको घटनास्थलमै मृत्यु भएको हो। दुर्घटनामा संलग्न बस र चालक हरिवन नगरपालिका – ११ प्रगति टोल निवासी करिब ५० वर्षीय सुर्य बहादुर थापालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय हरिवनमा राखिएको छ।
अहिले बालकको शव घटनास्थलमै रहेको र आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।





