सर्लाही – जनकपुरधाममा एक जना पुरुषको शव फेला परेको छ ।
बिहीबार बिहान जनकपुरधामको विश्वकर्मा चौकमा पहिचान खुल्न नसकेको एक जना पुरुष मृत अवस्थामा फेला परेको हो ।

उक्त चोकमा रहेको एउटा सटर अगाडि लडेको अवस्थामा भेटिएका ती व्यक्तिको मृत्यु शंकास्पद देखिएपछि धनुषा प्रहरीले घटनास्थललाई घेराबन्दी गरेर राखेको छ ।
स्थानीयले बिहानै सडक किनारमा ती व्यक्तिलाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । धनुषा प्रहरीको टोली पुगेर प्रारम्भिक अनुसन्धान थालेको छ । मृतकको पहिचान खुल्न बाँकी रहेको र घटनाको कारणबारे अनुसन्धान जारी रहेको धनुषा प्रहरीले जनाएको छ ।
शवलाई आवश्यक प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ । स्थानीयका अनुसार उक्त पुरुष हिजोदेखिनै सोही स्थानको छेउछाउमा डुलीरहेको अवस्थामा देखा परेको थियो । – नेपाल न्युज बैंक





