आज इद उल फित्र पर्व मनाइँदै

२०८२ चैत्र ७, शनिबार ०९:०८

सर्लाही – आज इद उल फित्र पर्व मनाइँदै छ । आज विशेष नमाज पाठ गरेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबडाबाट आशीर्वाद लिएर इद उल फित्र पर्व मनाइन्छ ।

यस पर्वमा आफूभन्दा सानालाई आशीर्वाद दिने गरिन्छ । आशीर्वाद लिन आउने आफन्तलाई सेवई, खजुरलगायत मिठा खानेकुरा खान दिने चलन छ । खुसीपूर्वक दान गरेर दीन दुःखी एवम् गरिबलाई बाँडिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो ।

पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले सामाजिक एवं सांस्कृतिक विविधताबिचको एकताले नै नेपाली राष्ट्रियतालाई सबल र सुदृढ बनाउने बताएका हुन् ।

उनले ईद (ईद उल फित्र) पर्वले मुस्लिम समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण, संवद्र्धन र विकास गर्न टेवा पुग्ने विश्वास पनि व्यक्त गरे ।

सन्देशमा भनिएको छ, ‘यस पर्वले सम्पूर्ण नेपालीबिच आपसी समझदारी, दिगो शान्ति एवम् भाइचाराको भावनाका साथै बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।’

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार