सर्लाही – ललितपुरमा मोटरसाइकल चोरी गरी नक्कली कागजात तयार गरेर बिक्री गर्दै आएको एउटा संगठित गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
जिल्लाको महालक्ष्मी नगरपालिका – ५ टिकाथलीस्थित ‘बाइबल हस्पिटल’ नामको ग्यारेज सञ्चालन गर्दै आएको उक्त समूह विभिन्न स्थानबाट मोटरसाइकल चोरी गर्ने र त्यसका इञ्जिन तथा चेसिस नम्बरमा किर्ते कागजात बनाउने काममा संलग्न रहेको खुलेको हो।

विशेष सूचनाका आधारमा प्रहरी वृत्त सातदोबाटोबाट खटिएको टोलीले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सर्लाही बरहथवा नगरपालिका – २ का २३ वर्षीय विशाल महतो, हाल काठमाडौँ महानगरपालिका – २३ नरेफाँट बस्दै आएका २९ वर्षीय भिमबहादुर अधिकारी र रौतहट वृन्दावन नगरपालिका–९ का २७ वर्षीय सञ्जिव कुमार कुसवाहा रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट विभिन्न कम्पनीका चार वटा मोटरसाइकल बरामद गरिएको छ। बरामद हुनेमा केटीएम ड्यूक २५०, केटीएम ड्यूक २००, रोयल इन्फिल्ड ३५० र केटीएम एड्भेन्चर २५० रहेका छन्। साथै, तीन थान ब्लुबुक समेत फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर चोरी तथा किर्तेसम्बन्धी मुद्दामा थप अनुसन्धान अघि बढाइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका अनुसार घटनामा अन्य व्यक्तिहरूको संलग्नता भए नभएकोबारे पनि अनुसन्धान भइरहेको छ।





