मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु

२०८२ चैत्र ८, आईतवार ०८:४५

सर्लाही – मिथिलाञ्चल क्षेत्रमा श्रद्धा र आस्थाको महान् पर्व चैती छठ आजदेखि विधिवत् सुरु भएको छ। तराईका विभिन्न जिल्लामा यस पर्वलाई चार दिनसम्म विशेष धार्मिक विधिअनुसार मनाइने गरिन्छ।

महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा र पर्सालगायतका जिल्लामा व्रतीहरूले आज ‘नहा खा’ विधिबाट पर्वको सुरुआत गरेका छन्। यस दिन स्नान गरी शुद्ध भोजन ग्रहण गर्ने परम्परा रहिआएको छ।

पर्वका अवसरमा गाउँ–सहरका पोखरी, तलाउ तथा नदी किनारमा चहलपहल बढेको छ। सत्य, अहिंसा र प्रकृतिप्रतिको श्रद्धा झल्काउने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिने विशेष परम्परा छ। परिवारको सुख, शान्ति, समृद्धि र स्वास्थ्यको कामनासहित व्रतीहरू कठोर उपवास बस्ने गर्दछन्।

दोस्रो दिन ‘खर्ना’, तेस्रो दिन सन्ध्याकालीन अर्घ र अन्तिम दिन उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी चैती छठ पर्व सम्पन्न गरिन्छ। यस क्रममा ठकुवा, खजुरिया, पेरुकियाजस्ता परिकार तथा विभिन्न फलफूल अर्पण गर्ने चलन छ।

चैती छठको आगमनसँगै मिथिलाञ्चल क्षेत्रभर धार्मिक माहोल तातेको छ भने नदी र पोखरी किनारमा भक्तजनको घुइँचो लाग्न थालेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार