वैदेशिक रोजगारीमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा सर्लाहीका एकसहित ५ जना पक्राउ

२०८२ चैत्र ८, आईतवार १८:५६
साङ्केतिक तस्बिर

सर्लाही – आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीमा पठाइदिने नाममा ठगी गर्ने गिरोहका पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाहीका एक जना समेत रहेका छन्। पक्राउ पर्नेहरूमा सर्लाही घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका–७ बस्दै आएका ४६ वर्षीय डिल्ली राम भुजेलसहित अन्य चार जना रहेका छन्।

उनीहरूले विभिन्न देश पठाइदिने आश्वासन दिँदै सर्वसाधारणबाट लाखौं रुपैयाँ असुलेर सम्पर्कविहीन भएको आरोप छ। प्रहरीका अनुसार भुजेलले माल्दिभ्स पठाइदिने भन्दै एक जनाबाट २ लाख ९९ हजार रुपैयाँ लिएका थिए।

अन्य पक्राउ पर्नेहरुमा कीर्तिपुर – ७ बस्दै आएका बर्दियाका ३६ वर्षीय अर्जुन बहादुर पौडेल, काठमाडौं महानगरपालिका–१६ बस्ने ४३ वर्षीया उमा गुरूङ, ललितपुर महानगरपालिका–७ बस्ने कास्की घर भएका ३३ वर्षीय आशिष महत र भक्तपुर मध्यपुर थिमी नगरपालिका–४ बस्ने रामेछाप घर भएकी ३५ वर्षीया संगिता श्रेष्ठ रहेका छन् ।

उनिहरूले समेत बेलायत, पोर्चुगल र क्रोएशिया पठाइदिने भन्दै पीडितहरूबाट ठूलो रकम असुलेको खुलेको छ। केही घटनामा २३ लाख रुपैयाँसम्म ठगी गरिएको पाइएको प्रहरीले जनाएको छ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। हाल पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार