सर्लाहीको चन्द्रनगरमा स्वास्थ्य चौकी सार्ने विषयमा स्थानीय आन्दोलित

२०८२ चैत्र ९, सोमबार १२:४२

मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिका – २ स्थित बबरगंजमा रहेको स्वास्थ्य चौकी सार्ने विषयलाई लिएर स्थानीयवासी आन्दोलित भएका छन्। पालिकाले उक्त स्वास्थ्य चौकीलाई करिब डेढ किलोमिटर टाढा पर्ने प्रति बजार क्षेत्रमा सार्ने तयारी गरेपछि स्थानीयले विरोध जनाएका हुन्।

सोमबार बिहानदेखि स्थानीयवासी सडकमा उत्रिँदै स्वास्थ्य चौकी हालकै स्थानमा राख्न माग गरेका छन्। उनीहरूले गाउँपालिका अध्यक्ष राजकुमार महतोविरुद्ध नाराबाजी गर्दै उक्त स्वास्थ्य चौकी नसार्न माग गरेका छन्।

आन्दोलनका क्रममा स्थानीयले बबरगंजस्थित श्री दुर्गा खोवारी माध्यमिक विद्यालयको गेट अगाडि भेला भई प्रदर्शनसमेत गरेका थिए। आन्दोलित स्थानीयले ‘स्वास्थ्य चौकि छिन्न पाईदैन, राज कुमार महतो मुर्दाबाद’ भन्दै नाराबाजी गरेका थिए।

चन्द्रनगर गाउँपालिका पुर्व अध्यक्ष महेन्द्र महतोले वर्तमान अध्यक्ष राजकुमार महतोले तानाशाही प्रवृत्तिले शासन चलाउन खोजेको आरोप लगाए। उनले राणाभन्दा पनि बढी जनतामा पावर देखाउन खोजेको हो, जनता उसको लागि नभई गाउँपालिका अध्यक्ष जनताको लागि भएको बताए । बबरगंजबाट स्वास्थ्य चौकी सार्नु भनेको तानाशाही प्रवृत्ति राजकुमारले देखाएको पुर्व अध्यक्ष महतोले बताए ।

यस्तै, चन्द्रनगर गाउँपालिकाकि उपाध्यक्ष गिता देवी महतोका श्रीमान महावीर महतोले अध्यक्ष राजकुमार महतोले ३५ प्रतिशतसम्म कमिशन उठाउने गरेको आरोप लगाए । ‘अध्यक्ष महतोले पालिकालाई नै दुषित बनाएको छ र अहिले स्वास्थ्य चौकी सार्नु दुखद भएको’ उनले बताए ।

साथै, वडा नम्बर २ का वडा अध्यक्ष शम्भु साहले आफुलाई केही जानकारी नै नगराइकन गाउँपालिका अध्यक्ष महतोले बबरगंजबाट स्वास्थ्य चौकी हटाउन खोजेको बताए । यसै, विवादले केही दिन देखि वडा कार्यलयमासमेत ताल्चा लगाइएको वडा अध्यक्ष साहले बताए ।

स्थिति तनावग्रस्त बन्ने संकेत देखिएपछि सुरक्षा व्यवस्थाका लागि प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो। हाल अवस्था नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ। यस विषयमा समाधान खोज्न स्थानीय जनप्रतिनिधि, सरोकारवाला र प्रशासनबीच छलफल गर्ने बताइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार