सर्लाही – महोत्तरीको सदरमुकाम जलेश्वरस्थित दुई होटलमा प्रहरीले छापा मार्दै यौन क्रियाकलापमा संलग्न रहेको आरोपमा होटल सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ।
जलेश्वर नगरपालिका – २ मटिहानी चोक नजिक सञ्चालनमा रहेका ‘कोहिनुर’ र ‘लङ्गाम’ होटलमा विशेष सूचनाका आधारमा पुगेको प्रहरी टोलीले छापा मार्दा उनीहरूलाई विभिन्न कोठाबाट नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा दुई महिला र दुई भारतीय नागरिक रहेका छन्। पहिलो तलाको गेष्ट रुमबाट एक महिलासहित भारतको मधुवनी घर भएका २८ वर्षीय पुरुष र दोस्रो तलाको अर्को कोठाबाट अर्की महिलासहित ३६ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले कोठाहरूको खानतलासी गर्दा प्रयोग भइसकेका तथा प्रयोग नभएका कन्डमलगायत सामग्रीसमेत बरामद गरेको छ। बरामद सामग्रीका आधारमा उक्त स्थानमा यौनजन्य गतिविधि सञ्चालन भइरहेको आशंका गरिएको प्रहरीले जनाएको छ।
सोहि क्रममा होटल सञ्चालनमा संलग्न जलेश्वर – २ निवासी ६० वर्षीय पुरुष र ४५ वर्षीया महिलालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। पक्राउ परेकामाथि मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको छ।





