सर्लाहीको सीमानाकामा ठुलो मात्रामा चिनियाँ स्याउ बरामद

२०८२ चैत्र ११, बुधबार १३:००

सर्लाही – नेपाल–भारत सीमावर्ती सर्लाही जिल्लाका विभिन्न नाकाबाट हुँदै आएको अवैध तस्करी फेरि उजागर भएको छ।

भारतीय सीमा क्षेत्रमा खटिएको सशस्त्र सुरक्षा बल (एसएसबी) ले हनुमाननगर नाका नजिकै चेकजाँचका क्रममा नेपालबाट भारततर्फ लैजाँदै गरिएको ३ हजार ५१५ केजी चिनियाँ स्याउ बरामद गरेको जनाएको छ।

सो स्याउ दुई वटा महिन्द्रा पिकअप गाडीमा लोड गरी तस्करी गरिँदै गर्दा नियन्त्रणमा लिइएको हो। बरामद गरिएको स्याउसहित दुवै सवारीसाधनलाई आवश्यक कानुनी प्रक्रिया अघि बढाउन भारतस्थित सोनवर्सा भन्सार कार्यालयमा बुझाइएको एसएसबीले जानकारी दिएको छ।

स्थानीय बासिन्दाका अनुसार सर्लाहीका संग्रामपुर, नारायणपुर, पर्सा, त्रिभुवननगर, मलंगवा, भाँडसर, सिमरा, मधुवनी र अर्नाहा लगायतका सीमावर्ती नाकाबाट दैनिक रूपमा लाखौँ रुपैयाँ बराबरका सामान अवैध रूपमा ओसारपसार हुने गरेको छ।

विशेषगरी राति र बिहानको समयमा यस्ता गतिविधि बढ्ने गरेको उनीहरूको भनाइ छ। सीमा क्षेत्रमा भइरहेको निरन्तर तस्करीले सुरक्षा संयन्त्रलाई चुनौती दिइरहेको छ भने स्थानीयवासीले कडाइका साथ अनुगमन र नियन्त्रणको माग गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार