सर्लाही – हिन्दू धर्मावलम्बीहरूको महत्वपूर्ण पर्व रामनवमी आज देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदैछ। चैत्र शुक्ल नवमीका दिन पर्ने यस पर्वका अवसरमा सरकारले देशैभर सार्वजनिक बिदा दिएको छ।
धार्मिक मान्यताअनुसार आजकै दिन त्रेता युगमा अयोध्यामा राजा दशरथ र रानी कौसल्याका सुपुत्रका रूपमा भगवान् श्रीरामको जन्म भएको विश्वास गरिन्छ। विष्णुको सातौँ अवतारका रूपमा पूजिने श्रीरामको जन्म पुनर्वसु नक्षत्र र कर्कट लग्नमा भएको शास्त्रीय उल्लेख पाइन्छ।

रामनवमी वासन्तीय नवरात्रको अन्तिम दिनका रूपमा मनाइन्छ। भगवान् रामले अधर्ममाथि धर्मको विजय स्थापित गर्दै आदर्श शासन व्यवस्था ‘रामराज्य’ स्थापना गरेको धार्मिक विश्वास छ। यसैले यो पर्वलाई सत्य, अनुशासन र मर्यादाको प्रतीकका रूपमा लिइन्छ।
पर्वका अवसरमा देशभरका राम मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। विशेषगरी जनकपुरस्थित रामजानकी मन्दिरमा नेपाल र भारतका श्रद्धालुहरूको उल्लेख्य उपस्थिति देखिएको छ। त्यस्तै, भारतको अयोध्यामा पनि भव्य रूपमा रामनवमी मनाइँदैछ।
यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ । रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजापाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ।
विद्वानहरूका अनुसार रामनवमीले समाजमा मर्यादित, अनुशासित र जिम्मेवार नेतृत्वको आवश्यकता स्मरण गराउँछ। भगवान् रामको आदर्श जीवनशैलीलाई आत्मसात् गर्न सके मात्र यस पर्वको वास्तविक महत्व रहने उनीहरूको भनाइ छ।
असत्यमाथि सत्यको विजयको सन्देश बोकेको यो पर्वले समाजमा नैतिकता, सदाचार र सहिष्णुताको भावना विस्तार गर्ने विश्वास गरिएको छ।





