मलंगवा – सर्लाहीको चन्द्रनगर गाउँपालिका – १, किसनपुरमा शिक्षा शाखा प्रमुख कमला बस्नेतमाथि दुर्व्यवहार भएको घटना सार्वजनिक भएको छ। वडा अध्यक्ष रामेश्वर प्रसाद महतोसहित केही व्यक्तिहरूले गालीगलौज गर्दै हातपातको प्रयास गरेको भिडियो बाहिरिएको हो।
सोमबार किसनपुर माध्यमिक विद्यालयमा विद्यालय व्यवस्थापन समिति गठनका लागि आयोजना गरिएको भेलाका क्रममा उनीमाथि दुर्व्यवहार भएको हो। स्थानीयका अनुसार विद्यालय व्यवस्थापन समिति गठनको विषयमा सहमति नजुटेपछि विवाद सुरु भएको थियो।

भेलामा अधिकांश सहभागीले सहमतिमै रामपुकार महतोको नेतृत्वमा समिति गठन गरेको बताइन्छ। तर, वडाध्यक्ष महतोले उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै हस्ताक्षर गर्न मानेनन्। त्यसपछि स्थिति झनै तनावपूर्ण बनेको थियो।
वडा अध्यक्षसहितको समूहले शिक्षा शाखा प्रमुख बस्नेतमाथि चर्को भाषामा बोल्दै दुर्व्यवहार गरेका थिए। उनीमाथि हातपात गर्ने प्रयाससमेत भएको र कर्मचारीलाई त्यहाँबाट हट्न दबाब दिइएको बताइएको छ।
कर्मचारीमाथि वडाध्यक्ष महतोसंगै उनका सहयोगीहरु राम साह हलुवाई, भरत गुप्ता, दरोगा पासवान र किशोरी रायले समेत दुर्व्यवहार गरेको आरोप लागेको छ। स्थानीय युवा सुनिल महतोका अनुसार, विवाद चर्किएपछि कर्मचारीलाई गाउँबाटै लखेट्ने प्रयाससमेत गरिएको थियो।
अर्का स्थानीय रमेश यादवले भने, व्यवस्थापन समिति सर्वसम्मत रूपमा गठन भई रामपुकार महतो चयन भइसकेको अवस्थामा पनि वडा अध्यक्षले व्यक्तिगत असन्तुष्टिका कारण निर्णय अस्वीकार गरेका बताए।
साथै, बैठकमा तयार पारिएको माइन्युट बुकसमेत खोसेर च्यातेको बताईएको छ। समिति गठनको प्रक्रिया वडा अध्यक्षको चाहना अनुसार नगरेपछि उनले कर्मचारीमाथि दुर्व्यवहार गरेको बुझिएको छ।
यस घटनापछि स्थानीय तहमा जनप्रतिनिधिको व्यवहार र कर्मचारी सुरक्षाको विषयमा प्रश्न उठेको छ। घटनाबारे सम्बन्धित निकायले छानबिन गरी दोषीमाथि कारबाही गर्नुपर्ने माग स्थानीयले गरेका छन्।





