सर्लाही – मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित गुम्बाचोकमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक किशोरीको मृत्यु भएको छ ।
हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको र विपरीत दिशाबाट आउँदै गरेको दुईवटा मोटरसाइकल एकआपसमा ठक्कर खाई अनियन्त्रित हुँदा ट्रकसँग ठोक्किएर दुर्घटना भएको हो ।

आज बिहान ११ः२५ बजेको समयमा हेटौंडाबाट जाँदै गरेको प्र.३–०२–००७ प ७६८३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको ना ४४ प ९३५४ नम्बरको मोटरसाइकल पूर्व–पश्चिम सडकखण्डमा एकापसमा ठक्कर खाएका थिए ।
ठक्कर लगत्तै ७६८३ नम्बरको मोटरसाइकलको पछाडि सवार हेटौंडा–९ की १८ वर्षीया एकता बैद्य अनियन्त्रित भई सोही दिशामा सिमेन्ट लोड गरेर वीरगञ्ज जाँदै गरेको ना ६ ख ३१४५ नम्बरको ट्रकमा ठोक्किन पुगेकि थिइन्।
ट्रकमा ठोक्किएर टाउको र शरीरको विभिन्न भागमा गम्भीर चोट लागेकी बैद्यलाई तत्काल उपचारका लागि हेटौडा अस्पताल लगिएको थियो । अस्पताल पु¥याइएको केही समयपछि दिउँसो १२ः२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन् ।
दुर्घटनामा परी ७६८३ नम्बरको मोटरसाइकलका चालक हेटौडा – ४ बस्ने १९ वर्षीय रोनिक कार्की सामान्य घाइते भएका छन् भने अर्को मोटरसाइकलका चालक चितवनको इच्छाकामना – ५ का २१ वर्षीय पुष्पालाल गुरुङ मध्यम घाइते भएका छन् । घाइते दुवैको हेटौडा अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले दुर्घटनामा संलग्न तीनवटै सवारी साधन र ट्रक चालक बाँके कोहलपुरका ३३ वर्षीय बद्रि गडरीयालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनाको बारेमा थप अनुसन्धान भइरहेको जनाएको छ। – नेपाल न्युज बैंक





