बारामा दुई मोटरसाइकल ठोक्किँदा सर्लाहीका एकसहित दुई जनाको मृत्यु

२०८२ चैत्र १८, बुधबार १६:५०
सांकेतिक तस्बिर

सर्लाही – बाराको निजगढ नगरपालिका – ९ स्थित पश्चिम लच्कामा आज दिउँसो भएको सवारी दुर्घटनामा परी दुई जना युवकको मृत्यु भएको छ ।

दुई वटा मोटरसाइकल एकआपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो। मृत्यु हुनेहरूमा सर्लाही लालबन्दी नगरपालिका – ७ का २२ वर्षीय वैभव ढुङ्गाना र निजगढ नगरपालिका – ६ धियालटोलका २३ वर्षीय सुरेश श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार सर्लाहीबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्र.२–०४२प ९८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बागमती प्र. ३ – ००४प ३६६१ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएका थिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका ढुङ्गानालाई उपचारका लागि वीरगञ्जस्थित एलएस न्यूरो अस्पताल गण्डक र श्रेष्ठलाई कलैयास्थित प्रादेशिक अस्पताल लगिएको थियो ।

तर, अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनीहरूलाई मृत घोषणा गरेका थिए। तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको प्रहरीले जनाएको छ। यस सम्बन्धमा थप अनुसन्धान भईरहेको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित समाचार